दसैँ / दीपक शम्चू
घरधन्दा सकेर मेलापात गर्दागर्दै 
क्षण-क्षणमा गोरेटोभरि आँखा ओच्छ्याएर 
क्षितिज नियाल्ने दिनचर्या सकिन्छ 
नवदुलहीको । 
आमाले भात पस्किदापस्किदै 
'ए... झुक्किएछु ।' भन्दै 
फर्काएर यथावत् राख्नुपर्दैन 
उब्रिएको खाली थाल । 
केटाकेटीका रहरबाट  
भाग्दैगरेको मुस्कान फर्काइदिन्छ,  
महिनौ बोलचाल बन्द भएका छरछिमेकीका  
झ्यालढोकाहरू आफ्सेआफ् खुल्न थाल्छन्  
घरभरि परदेश आइपुग्छ ।  
अनिकाल लघारेर शह भर्छ भकारी  
गरिबी निचोरेर ठाट पहिरिन्छ शरीर 
भाग्य खोजेर आशीर्वाद टाँस्छ निधार  
स्वीकार गरेर जमरा सिउरिन्छ शिर ।  
जताततै हर्षोल्लास फैलाएर  
रमाउँदारमाउँदै हराउँछ 
धागो चुटिएको चङ्गाझैँ  
उड्दाउड्दै बिलाउँछ  
तेल सकिएर निभेको दियोझैँ 
बिस्तारै-बिस्तारै अस्ताउँछ 
दसैँ ।  
०००
 
	
	

