भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दार्जिलिङको चित्र / रेमिका थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

(१)
दार्जिलिङ पुरानै व्यवस्थाको एउटा रूमानी गाउँ
रमितै-रमिता ।
एक चुस्की चियासँग एक सर्को सिगरेटको धुवाँ
आकासतिर फुकिपठाउनु
त्यही धुवाँको रगमगमा जिन्दगीको जोखना हेरिबस्नु
रमिता ।
एउटा लबस्तरो आलस
घोडामाथि सवार हुनु र
पछि-पछि भिखारीहरूको डफ्फालाई
कहिल्यै निर्णय नहुने रेस खेलाइरहनु
रमिता ।
तर अब
दार्जिलिङमा यो रोमाण्टिक नाटकको अध्याय
समाप्त भएको छ ।
रमितेहरू आज आफ्नै अनुहार हेर्दैछन्
सामुन्नेमा नै उभेको छ अग्लो हिमाल
ऐना ।
शिर उठाएर आफ्नो अनुहार कहिल्यै नहेरेको ?

ल, हेरौँ
चिन्यौ के हँ आफैलाई ?

(२)
विराट समूह जसले आँखामा आँधी बाँधेको छ
अथाह जमात जसले छातीमा माटोको सास बाँचेको छ
समयको काला अक्षरहरूसँग
कारागारमा कोचारिएका
विडम्बनाको निर्मम बूटमुनि थिल्थिल्याउँदा
पारिएका
घरिघरि आफ्नो विश्वास गह्नाउँदै बाँचेको इतिहासका
भूमिगत
अचानक हुरहुर बाहिर निस्कँदैछ
आवाज आवाज सर्वत्र आवाज।
निस्केको निस्केकै छ कैदी आवाजहरूको
विराट समूह
एक बहुला काजीको आदिम म्युजियमबाट।

(३)
संसारको टेलिभिजनले खिँचेको छ आज
दार्जिलिङको चित्र ।
वर्षौँदेखि निरन्तर कारावासले खुम्चेका
समयको तिखो-तिखो कोर्राले डामिएका
व्यवस्थाको फ्यात्त-फ्यात्त झर्ने कुष्ठरोगले
सडाइएका
लुला-लङ्गडा, मरन्च्याँसे, बूढा पारिएका
लोकतन्त्रका हजार - हजार अपदस्त अनुहारहरू
जेल - नेल तोडेर निस्कँदैछ र
मूल सडकमा हिँडदैछन्
एक निर्णायक यात्रा।
अपदस्त दार्जिलिङ
के यस्तै थियो
सनकी हिटलरको यहूदी पोल्ने भट्टी ?

दुनियाँको आँखाले खिँच्दैछ
आज दार्जिलिङको चित्र ।
                                            (सुनचरी, ०९. १२. ०७)