भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दासको स्मरण / जोतारे धाईबा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पहिले निस्कियो जुलुसको गोरो मुस्लो
अनि निस्कियो
यही झुत्रे ज्यानबाट
भुलुक्क-भुलुक्क
सबैभन्दा मैलो रगत ।

निर्जन टापुको एकलासमा ठिंग्रिएको रूखझैं
टोड्का-टोड्का आँखा देखेर देशको
पिलपिलाएर बगेथेँ म
नागबेली सडकका बुख्याँचाहरूसँग
मच्चाएर आँधी
हावा ल्याउने दौडमा मिसिएकाहरू
आज फेरि सजाइरहेछन् सो-केसमा
उही पुरानो र गुम्म गुम्सिएको भ्याकुम ।

अब त काँचुली फेरिएला
यही सपनाले रातो पारेको थेँ मैदान
हिँड्नेहरूलाई त यही मैदान रातो कार्पेट भएछ
अब
मैले मैलाई काइते भन्नुमा
के सजाय हुनसक्छ ?

हेरिरहेछु म
पारि किनाराको भित्ते घरमा
धिपधिप टुकीको न उज्यालो न तातो
मेरै देशको काँचो सपना र करोड भोका आँखाहरूको
दुई अल्लारे उमेरझैं यो आपसी हेराहेर
रमिता बनिरहने होला अझै कतिन्जेल ?
 
युगौँयुगदेखि
महान् टाङहरूको बलिपूजामा
रगताम्य भइरहेको मेरो यो काँधभर
िअर्को-अर्को पञ्जाको अन्त्यहीन सर्कसखेल
अब थाम्नु छैन ।

यही काँधमा टाङ फिँजाएर
कहिल्यै नउठ्ने गरी
चिप्लिन आउँछौ भने के लाग्छ होउ मेरो ?
देशको म एउटा बासीको के लाग्छ ?
फेरि आज
नयाँ जग बसाइएको कुनै दरबारमा
चामत्कारिक घोषणापत्र
अझै बुट्टा-बुट्टा भरेर
देखाइएला महान् भोटो जात्रा
फेरि मेरो निभिसकेको छाती किचिमिची पार्दै
ट्यास्स सजाउला कसैले
आफ्नै निधारमा नौरंगी कल्की ।

तामाको नरमनरम गुभो चुस्दै एकतमास
सबै जना उनीहरू हिजोजस्तै छिप्पिरहेछन्
एउटै छ यो मेरो देश
म फर्फर् ऐतिहासिक झन्डालाई
दशकौँदेखि उस्तै कलिलो छडीमा
लिरीलिरी हल्लाइरहेछु ।

एउटा आन्दोलन...
अर्को आन्दोलन ।