भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दिनको पचास त के हजार पटक् कती समझाउनू / मोतिराम भट्ट

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

दिनको पचास त के हजार पटक् कती समझाउनू
म गरीबको घरमा हरे तिमीले यसोरी नआउनू।

रिसमा थियौ कि खुसी थियौ, म त केही जान्दिनँ के थियौ,
कि यसो थियौ, कि उसो थियौ मनमा कसोरी बुझाउनू।

नत आ भनूँ, नत जा भनूँ म यसो भनूँ कि उसो भनूँ
तिनीको मिजाज म के भनूँ, कतिसम्म विन्ति चढाउनू।

वय सोह्रको मन साठिको छ र पो गजब छ ति प्यारिको
मुखको खाव छ चन्द्रको, ननिको छ मिस्सि लगाउनू।

मनसुब पुग्नू परै रहोस् दरसन् पनि छ कठिन जहाँ,
अब बाँचनेछु मता कहाँ तिनीलाई यति सुनाउनू।

तिमि बिर्सि आलत क्यै जनी, मत संझदो छु अझै पनि,
मुख भित्र पान चपाउनू, अलि हाँसि हाँसि हँसाउनू।

मणि हो भनूँ त न झल्कँने बिजुली भनूँ त न चंकने
आइना भनूँ त न टल्कने उपमा कसोरी जुराउनू।

तिमि पर्खि पर्ख भनी भनी कन जानू, फेरि नआउनू,
खपि सक्नु छैन मलाइ ता, तिमिले यसोरि छकाउनू।

सुन है सबै हरिको हुकुम् म हुकुम् भनूँ कि भनूँ जुलुम्
अघि जो भयो उत भै गयो तर फेरि मोति न लाउनू।