भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दिनचर्या आफ्नै स्मृतिकथाको / प्रवीण राई 'जुमेली'

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

केही दिन झर्दिनँ उँधोतिर पनि
पैयुँका फूलहरु टेक्दै धुम्तिको चप्लेटी ढुँगासम्म
टेकाएर बीजगणितका केही प्रस्न घिच्रोमाथि हिंड्दछु मनले पछिल्तिरहरु
गफका केही झिटीझाम्टी लिएर सिमलको बोट र त्यसको सियाँल ताप्न जाँदिनँ
बितेका केही उत्सव भएर चुहिन जाँदिनँ समृतिहरु त्यतातिर
पैयुँका फूलहरु टेक्दै हिउँदका केही साँझ
ढिलाएर फर्किदिनँ उचेल केही एक्स्ट्रा क्लासहरु
र केही शिक्षक दिवसहरु पनि
रातो माटो टेकेर चिप्लोहरु पनि खेल्दै
जुकाहरु केलाउँदै र एक झोला चामल
बिसाउँदिनँ अचेल मानेडाँडाहरु गोलफेकाहरु
भन्दिनँ पवनकुमारहरुलाई आँगने ढुँगातिर जाऔं पनि
केही छुट्टीहरु रमाउन जाऔं भन्दिनँ
लाबरका लाप्टाहरु फूकेर बेलुनका केही रहरहरु
बोक्दिनँ अचेल कल्बुङबाट हलुङ्गेका केही गाग्रीहरुसित पानी हुँदिनँ
कहिल्यै हुँदिनँ त्यतातिर अचेल म
बदमासीका दिनहरुमा आमाका केही थप्पड र आँसुहरु हुँदिनँ
खोज्दैनन् पनि अचेल भीमप्रकासहरुले त्यो ठूलेलाई यहाँ
कुल्लाका दिनहरुमा खोज्दैनन् रिङपाटका अमराइटहरुमा खोज्दैनन्
केराको पात पात पात सडकको नाली नाली नाली
बादलले पोखाइदिएर पनि नअडिएर थोपाहरु
झरिजान्छन् भुईंतिरै बिलाइजान्छन्
बग्नुहरु सबै उक्लेर तरेली तरेली तरेली
टेकेर पनि झरिजानुहरु बगानबेलिया भएर फुल्दिनँ वर्षभरि
अचेल डाइरीका केही पृष्ठहरु बाँधिन्छु मात्र
हातका केही कम्पनहरु रोइदिन्छु मिर्गौलाको केही दोष
सधैं दुख्नु यो टाउको र एउटा चस्मा
घण्टीबाजाका सबै साँझ-बिहानहरु अनुवाद भएर रहे इन्क्रिमेन्टका वर्षहरुमा
अधुरोहरुनै बाँधेर अचेलभरि पातहरु झरिजानु युक्लिप्टस भएर छ
भिखारी भएर रहेको छु कता बित्यौ नी मेरा क्याटिसको साँझहरु
टेक्दै टेक्दै टेक्दै फेरि विस्मृतिहरु पनि
सुकेका पातहरु बज्दै पदचापहरु पत्रदल खिल्ने कोसिसहरु केही छन्
सुकेका डाँक्लाभरि रीक्तता पुर्दै धाउनु यो
पोस्टअफिससम्मको गोरेटो र केही चिठ्ठीहरु
केही शुभकामनाहरु केही पोस्टकार्डहरु
फर्किन्छु पनि स्टेरियो डेकहरुबाट हार्दै म सहनाइको दिनहरु
बिजुलीको छेउमा निष्प्रतिभ उभ्दै म धिब्रीको रातहरु
खबरकागजको केही क्याप्सन केही घूँट चियाको र एउटा कलम
बस् केही दिन सोंच्दिनँ हाडेको फूलहरु अनि घुम्दिनँ लप्सीको गेडाहरु पनि
फलेदोको फूलहरुनै धाउँदिनँ अचेल कहीं जाँदिनँ म
ब्लाउजहरुबाट खेदिएर म चारुलता
अबला चौबन्दी चोलीको हीनता हाँसिरहने म हूँ लुसी
खोलाको बगर बगर बगर आयुको प्रहर प्रहर प्रहर
पोखिँदै अविरल मटियाहरुबाट चुहिँदै पनि
सकिएनन् तरलताहरु सबै बाँकी रहे मात्र चट्टान
निख्रिएनन् सजलताहरु सबै बाँटिएर चट्टानहरुलाई पुगेनन्
मेलोबाट खत्रक्क थाकेर आउने एउटा कृषक हुँदिनँ
किन हो जाउलोका केही गाँस र भाते निद्रा आउँदैन अचेल गाथमा
बियरको साँझहरु भएर हाँस्छु भीडहरुमा केही दिन
केही दिन रुन्छु भुटेको मकै भएर एकलोपनहरुमा
फुल्दिनँ अचेल धुप्पी भएर केही हरियो
धोबीनी चरी भएर गाउन आउदिनँ बिहानहरु अचेल
केही दिन झर्दिनँ उँधोतिर पैयुँको फूलहरु टेक्दै घुम्तिको चप्लेटी ढुँगासम्म
घिच्रोसम्म टेकाएर एउटा टाउको सधैं हिँड्दछु पछिल्तिर मात्र
अहँ अचेल कहीं जाँदिनँ म।।