दिनचर्या विषय २० – ३६ / उमानाथ शर्मा पोख्रेल
खाली प्रपञ्च व्यवहारतिरै लगाई ।
रद्दी न पार सखिहो । नरजन्म लाई ।।
आखीर हस्स परिनेछ पछी अवश्य ।
अर्कै तलाश गर शान्ति दिने रहस्य ।।२०।।
पेटै भरिन्न रहँदैन पनि शरीर ।
गर्नै पर्यो तब त काम पनि जरुर ।।
हो किन्तु मुख्य परलोकनिमित्त-धर्म ।
यस्लाई भङ्ग नगरी हुनु पर्छ कर्म ।।२१।।
पूजा यथाशक गरी व्यरहार केही ।
आई परे गरनु शुद्ध गराई देही ।।
योचित्तलाई तर ईश्वरमै भुलाई ।
गर्नू परेजति सबै व्यवहार लाई ।।२२।।
खानू पवित्र हलका चिज पच्न जाने ।
हो पेट भर्नु तक भोजन को त माने ।।
स्वादैमहाँ फसि नजातिपदार्थ खाई ।
चैतन्य नष्ट गरनू किनहाई हाई ।।२३।।
पोस्यो शरीर कन लोभ लियेर ज्यादा ।
पार्यो विहोस सँग यो मतिलाई बाधा ।।
आखीर चट्ट लडिजान्छ यही शरीर ।
यो जीवले खपनु पर्दछ खूब पीर ।।२४।।
जुन बुद्धिमा उदित हुन्छ सफा विचार ।
जुन् बुद्धि गर्दछ सदा सुखको प्रचार ।।
त्यो बुद्धि को गति विगारन मात्र खाली ।
गन्धा पदार्थहरुले सब पेट टाली ।।२५।।
विग्री रहेर कुन लाभछ हामी लाई ।
यस्बाट हात परने कुनहो भलाई ?।।
यस्तो बुझीकन गरौं शुभ खान पान ।
शुद्धै पदार्थसँग बस्दछ शुद्ध ज्ञान ।।२६।।
त्यो ज्ञानबाट जब निश्चय साथ काम ।
गर्छौं, हुनन् तब फलप्रद ती तमाम ।।
सप्रीरहन्छ व्यवहार सबै जगत्मा ।
पर्दैन खिन्न हुन कत्ति कुनै बखत्मा ।।२७।।
जो पर्छ काम उसको नतिजा विचारी ।
अत्यन्त धैर्य लिई चित्त पवित्र पारी ।।
गर्नु वडा पुरुषको लिइ शुद्ध राय ।
पर्दैन भन्न तब पो पछि हाय हाय ! ।।२८।।
बस्नु सदा हृदयलाई पवित्र पारी ।
आनन्द मानिसहनू सब काल भारी ।।
कस्तै कडा परिगये पनि विघ्न कष्ट ।
प्रज्ञा र धैर्य कन पार्नु हुँदैन नष्ट ।।२९।।
स्त्री पुत्र बन्धु धन धान्य पदार्थ नेरी ।
आसक्ति बेसि नलिनू परिणाम हेरी ।।
भेला भये किन कहाँतक यी प्रपञ्च ।
यस्ता अनित्य चिजले किनमान्नु सञ्च ।।३०।।
मेरा जहान घरबार कुटुम्ब मेरा ।
मेरा लुगा र गहना पनि छन् घनेरा ।।
भन्दै फस्यौं विपयमा तर शून्यहात ।
हुन्छौं, अवश्य बुझियो सब तर्फ बात ।।३१।।
छोरोछ, छन् अरु पनि सब इष्ट मित्र ।
भन्दै फुरुक्कपरदै न रमाउ मित्र ।।
आफ्नै प्रयोजन लिई कन जन्मियेर ।
भोगेर कर्म दुनिया दवियिन्छ फेर ।।३२।।
मेरो भयेछ अहिले अघि को थियो यो ।
बस्ला कहाँ तक अनी फिरला कहाँ यो ।।
को हूँ म जान्छु कहिले किन हूँ रहेको ।
के का निमित्त दुनिञा अरु थुप्रियेको ।।३३।।
यस्तो निरन्तर विचार लिंदा क्रमैले ।
जानिन्छ हेतु उसको सखिहो ! सबैले ।।
हुन्छन् मुसाफिर समान जहान-घेरा ।
संसार जंकशनतुल्य बुझिन्छ डेरा ।।३४।।
हुन्छन् सहश्र तिरका दुनिया बसेका ।
बेला विचार गरि हिंड्न कटी कसेका ।।
को शोक मोह गरला हिंडदा ति साथी ।
यस्तो विचार लिनु बन्धु-जहान माथी ।।३५।।
साथै रहे पनि सधैं भरि ती पदार्थ ।
मिल्दैन शान्ति मनमा कहिल्यै यथार्थ ।।
जान्छन् न ता सँगमहाँ पछि आफू जाँदा ।
के का निमित्त लिनु हो अनि प्रेम ज्यादा ? ।।३६।।