दिनचर्या विषय ३ – १९ / उमानाथ शर्मा पोख्रेल
ज्ञानी सुमान्य र चिरायु हुना निमित्त ।
धर्मै विषे मन लगाउनु पर्छ नित्य ।।
हो धर्मनै सुख गराउन मुख्य हेतु ।
हो धर्म मात्र भवसागर तर्न सेतु ।।३।।
थाम्ने चराचर सबैकन धर्मनै हो ।
ऐश्वर्य-वृद्धिम गरने पनि धर्म नै हो ।
त्यो मार्गमा चलनु, शास्त्र जता कहन्छ ।
त्यो धर्मवृक्ष तब नित्य बढीरहन्छ ।।४।।
आचार जोछ पहिले ऋषिले कहेको ।
आरोग्य शान्ति धन धर्म दिने भयेको ।।
त्यस्को यथार्थ सँग पालन गर्नलाग ।
लेऊ यसै विषयमा परिपूर्ण राग ।।५।।
जागा हुने गरनु चार बने बिहान ।
बाँधी पलेंटि शिवको अनि धर्नु ध्यान ।।
यी कालमा रहन जान्छ पवित्र चित्त ।
यस्लाई श्रेष्ठ बुझ सद्धिरधिका निमित्त ।।६।।
यो हो सखे ! भजन गरेन सुयोग्य मौका ।
यस्मा बनाउ भवसागर तर्न नौका ।।
यस्तो अमूल्य शुभ तीर्थ-समान वेला ।
निद्रै महाँ वितिगये परिनेछ फेला ।।७।।
यो काल सत्ययुग हो भनि संझ मित्र ।
उब्जन्छ सत्त्वगुण चित्त महाँ पवित्र ।।
यस्मा अनेक थरिका सुविचार खुल्छन् ।
ती सद्विेचारसँग सद्गुणमात्र झुल्छन् ।।८।।
कर्तव्य कर्म तिरको तब हुन्छ याद ।
जुन् कर्मबाट परदैन कुनै फसाद ।।
सप्रीरहन्छ परलोक समेत हाम्रो ।
संसारमा तब भयो नरजन्म राम्रो ।।९।।
यो जानि जागनु बिहान निकै सबेरै
यस् बाट हुन्छ सजिलैसँग लाभ धेरै ।।
आलस्य-शत्रुकन मारि जुरुक्क उठ्नु ।
श्री ईश्वरस्तुति गरीकन सौख्य लुट्नु ।।१०।।
ब्रम्हा जनार्दन महेश्वर इन्द्र चन्द्र ।
नागेन्द्र मारुत धनञ्जय श्री गणेन्द्र ।।
सप्तर्षि-वृन्द र अरु सब देव संघ ।
मेरो सदा गरिदिउन् सब विघ्न भङ्ग ।।११।।
हेईश ! हूँ प्रभुजिको म अनाथ दास ।
जान्दीन भक्ति गरने म उपाय खास ।।
मेरो सपारि दिनु होस् मतिलाई नाथ ।
संझी रहूँ-प्रभुजिलाई म भक्ति साथ ।।१२।।
संसार-रोग हरने प्रभु वैद्यराज ।
संसार-सिन्धु तरने प्रभु नै जहाज ।।
ऐश्वर्य नै प्रभु सदा-सुखशान्ति दाता ।।
आसक्ति गर्नु परने प्रभु मुख्य नाता ।।१३।।
हे विश्वनाथ ! शिव शंकर हे महेश ! ।
यो दुःखीका उपरमा करुणा रहोस ।।
एकाग्र भै प्रभुजिको गुण गान गाऊँ ।
हे भक्त-वत्सल ! म यै वरदान पाऊँ ।।१४।।
तृष्णा छुटोस्, धनको महिमा छुटोस ।
यो मोहजाल भवसागरको टुटोस ।।
कर्तव्य मुख्य जुन हो उसमै मलाई ।
हर्दम् लगाई कन गर्दिनुहोस् भलाई ।।१५।।
शय्यामहाँ बसि यसैरितका पुकारा ।
गर्नू उनैकन बुझी सबका सहारा ।।
विस्तारमा बढन जान्छ अवश्य भक्ति ।
हो भक्तिनै सुख दिने अति योग्य युक्ति ।।१६।।
यो सद्विचार गरदा गरदै बिहानै ।
श्री सूर्यका उदय देखि अगाडिमानै ।।
कोही जलाशय महाँ गई स्नान गर्नू ।
आलस्यका वश महाँ कहिल्यै नपर्नू ।।१७।।
भाई ! निरन्तर सबेर नुहाउनाले ।
चित्त प्रसन्न रहला भनि संझ पैले ।।
आरोग्य शान्ति मति आयु पनि बढाई ।
त्यो स्नानले गरिदिनेछ सधैं भलाई ।।१८।।
आऊ तुरुन्त अब स्नानगरी सकेर ।
क्यै काल सम्म अरु कामविषे नहेर ।।
एकान्तमा बसि पवित्र गराई चित्त ।
पूजा र पाठ जप गर्न हुनू प्रवृत्त ।।१९।।