भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दिलको हाल धड्कन्छ / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म नरहे पनि यो दिल मन्द-चाल धड्कन्छ
मेरो मुटु बोकेर गजलको ताल धड्कन्छ
 
के रोऊँ, के हाँसूँ, बताऊँ के कसलाई म
जब मेरा पङ्क्ति मै दिलको हाल धड्कन्छ
 
म मर्दैमा के हुन्छ, हामी बाँचे त भइहाल्छ
हाम्रो माया धर्तीसँगै अनन्त-काल धड्कन्छ
 
तिम्रो प्रेमले बनायो अमर मेरो मुटुलाई
म मरेपछि पनि, यो सालौँसाल धड्कन्छ
 
आउँदैछिन् उनी यतै मलाई भेट्न हो कि
हेर्दै गर मेरो मुटु कस्तो बब्बाल धड्कन्छ

नराख्नु जथाभाबी, मुटु बाँधी दिएको छु
बेलाबेला हेर्दै गर्नू, त्यो रुमाल धड्कन्छ
 
भित्र बसेको मान्छेले ढक्ढक्याएर हो कि
छाती अचेल खै किन, भई बेहाल धड्कन्छ
  
चारैतिर रात छ, छ सर्वत्र अँध्यारो सन्नाटा
तर मेरो कोठामा, शून्यता विशाल धड्कन्छ
 
उनको अँगालो थियो, या थियो त्यो भूकम्प
के थियो सुमन ! त्यो, वा अङ्कमाल धड्कन्छ