दुई किसान / एस.आर. एक्कुन्दी / सुमन पोखरेल
“यही हुनुपर्छ बास, प्रिय कुम्भराम,
यहाँ बास बस्न आएजस्तो लाग्छ वसन्त ऋतुले,
बीचमा कोमल पात र कोपिलाहरू झुन्डिएका,
कविताको स्वच्छताको सार भुन्नुनाउदैछन् भवँराहरू!”
“त्यस्तै लाग्छ मलाई पनि, भैरोसिँह,
दर्जनौँ मृगहरू प्रेमिल भएर बराल्लिएका छन् यहाँ,
आफ्नो सुगन्छ छर्छ यहाँ शीतल बतासले,
फूलका गालामा भएका शीतका थोपालाई चुम्बन गरिसकेपछि!”
फैलिएका पाखुराजस्तै यस बासका ढोकाहरू,
तत्पर छन् आगन्तुक पाहुनालाई स्वागत गर्न,
स्वागतको स्वर सुनिन्छ ढोकामा
हो, यो उही हो, त्यो प्रसिद्ध एकजना।
मुठ्ठी बाँधेर उनीहरूले पर्खिरहेका बेला,
ओसविहीन बिहानीजस्तै स्वच्छ लुगा लगाएर,
भिरेर काँधमा एउटा ओढ्ने,
आइपुग्छ ऊ
केराको पातमा बसेर फर्रफराइरहेको पुतलीको फर्फराहटजस्तै मुस्कानका साथ ।
“आउनुस्” भन्छ ऊ, “म के सहयोग गर्न सक्छु?”
र नचिनेर, सोध्छ को हुन् उनीहरू।
बोल्छ आगन्तुक, “आज शिवरात्री हो, हैन?”
आज राती उज्जैन पुग्न तीर्थयात्रामा हिँडेका हामी ।
छिमेकी हौँ हामी, हजुर, किसान हौँ हामी दुबै,
भर्खर महाकालेश्वरको दर्शन गरेर आएका।
मन्दिरबाट फर्किँदा हामी हजुरलाई भेट्न यहाँ आएका
हजुरको प्रतिष्ठाका बारेका धेरै सुनेका छौँ हामीले, हजुर!
हजुर महाकवि कालिदाश हुनुहुन्छ, हैन?
कण्व ऋषिकी छोरीलाई राजा भए ठाउँ लग्नु भएथ्यो हजुरले,
हजुरले जोगाउनु भयो अभिशापित गरीब युवती शकुन्तलालाई
नदेखिने औँठीलाई देखिने बनाइदिएर!
पार्वतीको मौन निर्दोष सुगन्ध गाउनु भयो हजुरले
शिवसँग उनको मिलन गराउने गरी;
आफ्ना काँधमा बोक्नु भयो हजुरले, भावनाले भरिएको भाँडो
घुमिरहने बनाउनु भयो ऋतुहरूलाई,
हिमालसँग कुरा गर्नसक्ने बनाउनु भयो बादललाई ।
प्रतिष्ठाको रुखको एक्लो फूल हुनुहुन्छ हजुर।“
किसानले प्रशंसा गर्दै भने।
केही सङ्कोचका साथ, उनीहरूलाई भित्र बोलाए कविले,
मीठा खानेकुरा खुवाए, र जान्न चाहे
अरू के गर्न सक्छन् उनीहरूका लागि।
भैरोसिँहले भने, “हो हजुर, हामी
त्यो यक्षका प्रेमका लागि हजुरले
यक्षीलाई रामगिरीदेखि अलकावतीसम्म पठाउनु भएको
त्यो बादलका बारेका कुरा गर्न चाहन्थ्यौँ हजुरसँग
हो, त्यसैका बारेका कुरा गर्न चाहन्छौँ हामी ।
हजुरलाई, एउटा अनुरोध गर्न आएका हौँ हजुर।हामी दुबै यहाँ।
पूरै खडेरी परेको छ हाम्रो खेतमा
एक थोपा पानी छैन, हजुर!
बाटामा जाँदाजाँदै केही पानी खन्याइदिनका लागि
भनिदिनु हुन्थ्यो कि त्यस बादललाई हजुर?”