दुई हज्जार दश, फेब्रुवरी चौध / सुमन पोखरेल
म
यसबेला
ई, यहाँ छु
यसरी ।
दुई हज्जार दश, फेब्रुवरी चौधका दिन
बेलुका दश पन्ध्रमा
के म
यहीँ हुनुपर्थ्यो ?
के म यसै गरी
बगरको ढुङ्गोजस्तो उत्तानो
पहाडी नदीको आकाशझैँ, खोलेर सर्टका बटनलाई
खै केकेको बोझले थामिन नसकेको टाउकालाई टेकाएर भित्तामा
सत्ताको विवेकजस्तै, नभएको मसीले
भावनाको अदृष्य भित्तामा
शब्द भन्दै, आफैँले नबुझ्ने केकेजाति कोरिरहेको हुनुपर्थ्यो?
अथवा
फुकालेर सम्पूर्ण धैर्यता
च्यातेर मनलाई धुजाधुजा
जलाएर जन्मौँजन्मको बोधोपन
पुर्खौँदेखि लुकेको विद्रोहको कोर्राले
हिर्काउँदै बहिरो राज्यको पाषाणसंवेदनलाई
सडकैसडक नाङ्गै चिच्याउँदै हिँडिरहेको हुनुपर्थ्यो ?
के लाग्छ तिमीलाई साथी?
यसबेला म
केटाकेटी बीच केटाकेटी भएर
हालेर निश्छलता मनभरि
“कालाभन्दा फूल लाम्लो
तालाभन्दा जून लाम्लो”
उफ्रिउफ्रि गाइरहेको हुनुपर्थ्यो ?
वा
मातेर नसोचेको वैभवको तुजुकले
हाँकेर आफ्ना बेइमानीको बखान
धर्तीमा आफ्नो उपस्थितिको वकालत गरिरहेको हुनुपर्थ्यो ?
भन,
बयालीस बर्ष चार महिना तेइस दिनको उमेरमा
मैले के गरिरहेको हुनुपर्थ्यो ?
लिएर मधुरो दीप सपनाको
समयको निर्लज्ज आँधी झेल्दै
सृष्टिभरि फिँजिएर निदाएको भ्रमलाई ब्यूँझाउन
मैले बाँच्या' भनिएको यस मुलुकको छातीमाथी
धरमर धरमर हिँडिरहेको हुनुपर्थ्यो ?
अथवा
उनकै गालालाई जिस्क्याइरहेको
प्रेयसीको मातिएको केशलाई समेटेर हृदयको स्पर्शले
प्रेमको थप एक अध्यायलाई शुरू वा अन्त्य गरिरहेको हुनुपर्थ्यो ?
दुई हज्जार दश, फेब्रुवरी चौध बेलुकी दश पन्ध्रमा
म
यहाँ
ई !
यसरी, यसो गर्दैछु ।
भन साथी !
यसबेला मैले
कहाँ, कसरी, कसो गरिरहेको हुनुपर्थ्यो ?