दुखिरह्यो जीवन / सुमन पोखरेल
नदीजस्तै कतै बगिरह्यो जीवन
आफैँबाट सधैँ, भागिरह्यो जीवन
देख्नै पाइएन, चाहेको जसरी
मैले खोजिरहेँ, लुकिरह्यो जीवन
फूल छुन खोज्दा काँडा बनी आयो
बाँचुन्जेल सधैँ, दुखिरह्यो जीवन
जता हिँडूँ भन्यो त्यतै भत्किदिने
मेराविरुद्ध मै, लागिरह्यो जीवन
एक्लै हिँड्या भए, कतै पुग्थेँ शायद
हरेक बिसौनीमा, बसिरह्यो जीवन
उमेर पूरै बित्यो सम्हाल्दै उसैलाई
उठाइरहेँ मैले, लडिरह्यो जीवन
सन्चो-बिसन्चो खबर सोधेँ मैले
छातीमा शिर राखी रोइरह्यो जीवन
बिछोडको पीडाले मारिसक्ने थियो
धन्य सँगसँगै हिँडिरह्यो जीवन
हावाभन्दा बेगले बहूँ म भन्थेँ
हिमालजसरी अडिइरह्यो जीवन
अब कता जाने भनी सोधेँ मैले
केही नबोली हाँसिरह्यो जीवन
अनेक प्रश्न गरेँ अनेक कुरा सोधेँ
आफ्नै सोचाइमा, डुबिरह्यो जीवन
आफ्ना चाहना, सबै थन्क्याएर
दुनियाँको धूनमा, नाचिरह्यो जीवन
समातेर पलमै राखिरहूँ भन्थेँ
रात दिन गर्दै, बितिरह्यो जीवन
देखेका सपना, सपना नै रहे
व्यवधान बोकेर उभिरह्यो जीवन
अनेक आश गर्यो, म मस्त गजलमै
बाँचुन्जेल मसँग दु:खी रह्यो जीवन
बाँकी थियो लेनदेन, तँसँग सुमन !
शायद त्यसैले नै बाँचिरह्यो जीवन