देशमा विभीषणहरू जिउँदै छन् ।
देशमा एकलव्यहरू पनि छन् ।
जे जति अर्जुनहरू छन्
ती अब कुनै हालतमा,
कृष्णको बेकारी बहकाउमा,
महाभारत लड्न चाहँदैनन्
र पश्चात्तापको मधुर भाषामा
उल्टै सम्झाइरहेछन् कृष्णलाई,
फेरि अर्को युद्धको तयारी
अब कसै गरी गर्नु हुन्न भनेर ।
अझै जिकिर छ कृपाचार्यको
कृष्णले चाहेका भए,
जुनसुकै बेला पनि-
युद्ध टाल्न सकिन्थ्यो भनेर
निरीह धृतराष्टहरूले
पहिला पनि कहाँ सिमाना देखेका थिए र !
दूरद्रष्टा भनिने
सञ्जयहरू पनि अविरल हडतालमा जुटेका छन्
उनीहरू अब
कुनै दृष्टिविहीनको पाउभक्तिमा
आफ्नो समय उत्सर्ग गर्नर् चाहँदैनन्
र
चाहँदैनन्
पुत्रमोहका नाउँमा
एउटा सिंगै सभ्यता नासियोस्
च्याँखेको राजनीति छाडेर
दुःशासन पनि सुधि्रएका छन्
सभ्यता टिकिरहनुपर्छ भनेर
दुर्योधन सत्संगमा भिजेका छन्
इच्छा छैन कसैलाई
अब कुनै युद्ध चम्कियोस्
र
खरानी बनोस् कुरुक्षेत्र ।
सबै युद्धहरूबाट थाकेको म भने अहिले
अगम शिखरको चौतारीमा बसेर
तल समथर सम्पदाहरू हेरिरहेछु
मेरो देश
अचेल जहाँ
हस्तिनापुरमा नभएका
केही पुरानै दाउका शकुनिहरू छन्
केही भने शकुनि हुन खोज्दै छन्
र
भर्खर जन्मेका नयाँ शकुनिहरूलाई
स्कुले नानीहरू
पुतला बनाएर जलाउँदै छन् ।