भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

दृश्य- अदृश्य दैनिकीहरू

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मनभरि बाढी र हुरी बोकेर उमेश लुइटेल
फुटेका नाङ्गा कुर्कुच्चाहरु
सर्वदा उकाली ओराली हिँड्नुको विवशतामा
विस्मित भइरहन्छन्
मूर्च्छित समयका टट्याउने पलहरुको समाप्तिको आशामा ।

आँसुले लिलाम गरेका आँखामा
रोमाञ्चकताका परिदृश्यहरु अन्तै कतै निर्वासित छन् आज
खडेरी परेका रहहरु सक्षम छैनन्
आमरण सुरम्यता दिन ।

आभिजात्य दिनचर्याका चाहहरु केवल जलविन्दु हुन्
जो कहिले साकार हुन सक्दैनन्
त्यसैले जिन्दगी खरानी सरह भएको छ
खरानीमा कुन प्राप्तिको प्रतिबिम्ब भेट्न सकिन्छ र  ?

चैते डढेलो लागेको भाग्यमा
थोत्रिएको भोटो
आफ्नै छायाजस्तै हरपलको साथी छ
थकाइ मेटाएर आश्रयको अन्तर्बोध गरार्इ
हरक्षण अभ्युत्थानार्थ सजग
त्यही छाप्रो नै अजरामर, अमिट वरदान छ ।

सिस्नुको खोलेमा
जिन्दगीका छायाचित्रहरु देख्दैनन् कसैले
सुमधुरताको अनावरण गर्दैनन् अरु मनहरु
उराठ बगरमाझ एक्लिनुको पीडामा
टाउकाहरु अविरल नाम्ला बोकिरहन्छन् ।

सौम्यता र आशाका स्तम्भहरु ढलिसके
तैपनि आजलार्इ नै निरन्तरता दिइरहनेछन्
निरन्तर आउने भोलिहरुले
र कोरिँदैन योजनामा आजको स्केच कहिल्यै पनि ।