देश र धरहरा / सुमन पोखरेल
आजकल
किनकिन हो
धरहराले गिज्जाएझैँ लाग्छ
तर पनि उसैको माया लाग्छ ।
मूकदर्शक भएर
थुप्रै थुप्रै जुलुस
थुप्रै थुप्रै मान्छे
थुप्रै थुप्रै उपद्रोहरू
हेरिरहेछ एकनासले,
वर्षाभरि
घामभरि
हिउँदभरि
तुसारो र हुस्सुभरि ।
कुरिरहेछ देशका जिउँदा लासहरूलाई
पहरा दिइरहेछ राष्ट्रको
विना ज्याला
विना पारिश्रमिक
विना तलव
विना भत्ता,
राष्ट्रको खुट्टा भएर ।
पतीत नैतिकता र
राष्ट्रघातसँग हिँडन नसकेर
उभिइरहेछ
एक खुट्टाको सहारामा
भीमसेनलाई सम्झेर,
राष्ट्रभक्तिको प्रतीक
धरहरा, भीमसेन स्तम्भ ।
राष्ट्रभक्ति गर्न नसकेर
देश
प्रतीकको अनुकरण गरिरहेछ
र
एउटा खुट्टाले टेकेर
एउटा खुट्टा बोकेर
हिडिँरहेछ
आरोहण गर्न संसारको ।
शिखरसम्म पुग्ने सामर्थ्य ज्यादा भएमा
आरोहणपछि तिरोहण अवश्यंभावी छ
मानव सभ्यताकोझैँ
पुनः जङ्गलतिर
पुनः ढुङ्गातिर
पुनः नग्नतातिर
भनेर हुनसक्छ, सायद
देश
दुई खुट्टाले ठमठम हिँडन
म्याराथुन धावक झैँ दौडिन
डराइरहेछ र
एक खुट्टा बोकेर
एक खुट्टाले हिँडिरहेछ ।
देश
देशको घाउमा आफैँ दुखिरहेछ
अलिकति आगो र
केही धुवाँहरू भएर,
आँखा र छातीमा
स्वयम्भू र टुँडिखेलमा
छरिएका मूल्यहरूका
पलपलका आरोहण र तिरोहण सँगसँगै ।
साङ्लीले बाँधिँदा खुट्टाहरू
फुकेर दौडने इच्छा राख्दथे,
साङ्ली फुकेपछि
दौडिरहेछन्
हिलाबाटाहरू र
साँगुरा गल्लीहरूमा
गन्तव्यविहीन ।
दौडाइको क्रममा
भीरबाट खसेका छन्
पहरामा ठोकिएका छन्
रुखबाट किचिएका छन्
मध्यान्हको धपेडीमा
घामको गर्मीबाट मुर्छापरेका छन्
देशका खुट्टाहरू ।
खुट्टा दुख्दैमा
खुट्टा किचिँदैमा
हिँडन नसक्दैमा
बगर छेउको चुच्चे ढुङ्गो
सर्वोच्च शिखर हुन सक्दैन,
गन्तव्य बिर्सिँदैमा
चिन्न नसक्दैमा
टाउको लठ्ठी हुन सक्दैन ।
सगरमाथालाई
लठ्ठी बनाएको छ देशले
र
आरोहण गर्न खोज्दैछ
संसारको,
धरहराको एक खुट्टाले टेकेर
एक खुट्टाले हिँडेर ।