भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दोर्जिलिङको बाघचूलीमा / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

क.
कञ्चनजङ्घा लेक भरिभर
ब्राह्ममुहूर्तमा मिरमिर, मिरमिर,
आँग जोरी भेडा उँग्छन् दलका दल,
पाठा, माउ सब, बादलका,
निश्छल !
भेडीगोठमा उँचाइका, बाफ–पस्विना, परिणत, जल
मेषभूत, विभूति रङ्गका
बादल !
निशिभर हावाघरका सुतेका
बिउँझिन लागे पलपल !

ख.
पहिले बिउँझ्यो निद्रित समीकरण,
हल्ले निद्रित पत्रहरु,
त्यक्त–तरु,
फुत्त झरेका पँखेरु–उरले, उत्सुकतासँग हुर्रा धकेले,
अलि गतिबाधा तर उच्चालक
छालहरु ।

ग.
विभा खुशीले भइन् उज्याली,
मौन प्रतीक्षा भो बादल !
स्वर्णिम, उर्णिम जीवन, जागृति,
परिणति पाउन,
पर्खिरहेको जस्तो जल !
उषा–किरणका भक्तहरुको
वाष्पिल आत्माको झैं जल !
दर्शनको मृदु भावस्फुरणका
ध्यान–निद्रा बनेझैं सजल !

घ.
छिक्र्यो गुलाफी क्षितिज किनारा,
प्रथम उषाको लाली सरि !
पहिलो छिर्का लागी फुटेका,
सृष्टिका कुड्मल–जाली सरि !
अथवा बिउँझिरहेको कविको
मुटुका बुबुल्के प्याली सरि !

ङ.
छिर्दै आयो भुवा, भुवामा,
कवि–स्वपनाको धस्लीभरि !
साक्षात्कृता क्वै सुन्दरताको
स्मितिको गुलाफी लचक सरि,
खुल्दछ पूर्व किनारा लम्बिई,
भू–सगरी !

च.
सृजनधूलीमा रङ्ग छिरबिर भो !
स्रष्टा चल्थ्यो !
उसका हात चलेझैं लागी,
आँखा घुमीकन लरबर भो !
छोएजति सब जिउँथ्यो, बल्थ्यो
सुन्दरले सब,
सुन्दर भो !

छ.
कोही रँग्थ्यो तरलाकारी, भाव–भुवामा
बल्दो क्षणको जल्दो रङ्ग ।
ज्वाला–तरङ्ग !

ज.
सिँगार्न थाल्यो प्रकुति पुरुषले,
शर्मी प्रकृति बन्थिन् दङ्ग !
ब्रीडा जन्मी जपाकुसुममा,
उत्सव बोल्थे विहङ्ग !

झ.
यस्तो रङ्गिएको आकाश !
हरेक ठाउँमा अद्भुतताले
चुम्बित,
होइन, सेता तपस्या–चूली
उपर खुलेको स्वर्ग हि खास ?

ञ.
माला कहीं क्या विवाहोत्सवका !
क्या लच्के !
कहीं, परीहरु हातेमालो,
नाची मनोहर, क्या मस्के !
स्वर्ग र पृथिवीको छ विवाह !
वाह !
इन्द्र आफैं ऐरावतमा
क्या लस्के !
आए उ ! उ ! वनमाली ती, मुरली अधर ती,
निस्के !
सजग चराचर रङ्गमा नाच्यो, मीठो सुर ली, मीठो सुर ली !
दिल उर्ली !
कलपुर्जा सब मेरा,
चुम्बक अगाडि झस्के !

ट.
मानव कल्पना भरखर बिउँझी,
आँखा मिचेझैं, जिल्ल परी !
सारा प्रथम पुराणकथाका,
आत्मा लागी बुभूmँ अलिकति
चौकीवरी ।
वेद जन्मियो कमलपत्रमा उ त्यो कुनामा !
उ त्यो कुनामा !
ज्ञान वैरियो किरणहरु झै धन–तनमा उ !
आँसु–बुनामा !
शिवले गरल पिईकन तमको, उम्ल्यो अमृत !
उम्ल्यो अमृत !
यो के ?
माया उपर परेको सत्चित्, सच्चित, !
आनन्द हो ए !
हयग्रीव छन् गाइरहेका काहीं, करलहरीमा, करलहरीमा !
चित्रकला छन् जन्मिरहेकी स्वर्गधुरीमा, स्वर्गधुरीमा !
सारा कलाको अभिनय देख्दछु
अप्रत्याशित, यो अनमोल,
जीवन घडीमा ! जीवन घडीमा !

ठ.
कञ्चनजङ्घा कञ्चन भो,
आयो हिरण्मय, आयो किरणमय !
अमृत बनाई सकल मरणमय !
मृत्युको एक छिन लाञ्छन् भो !

ड.
तब देखें एक सेतो कचौरा
हिउँको !
त्यसले अगणित युगभर पिएथ्यो,
यस्तो मदिरा,
यस्तो मदिरा,
त्यसको आत्मासाथ मितेरी लाउन पाऊँ त
एक छिनको !
प्रभात पागल भनीकन हेर्थे, आँखा चकित
रे सब जनको !

ढ.
फर्के !
फर्के, फर्की नजरले हेर्न, फर्की, फर्की,
अद्भुत हिमाल !
दृश्य कमाल !
अद्भुतताको आदिम सदन त्यो,
काञ्चनजङ्घा गिरिको भाल !
प्रकुति त्यहाँ छन् प्रदर्शिनीमा, कल्पनाका सब धन ली,
नवसृष्टिधूलिका घन ली !
बाघचूली चढेकी देवी,
त्रिभुवनसुन्दरी, बल्दी, जल्दी,
देखें केही, सुने पनि केही,
छाड्थ्यो शरीर यो एक छिन देही !
एक दर्शनमा ज्ञान अनन्त छ,
एक वाणीमा वेद हजार !
धर्म यसै गरी जन्मे होलान्,
साहित्य, कला, औं संसार !