धरती – २ / मनप्रसाद सुब्बा
अग्लो उठेका पहाड-पर्वतमा मात्र होइन
तर ससाना दुःख-सुख बाँडिने
हाम्रा सामान्य बातचितका ससाना पातहरुमा पनि
धरती उचालिएको हुन्छ माथि-माथि !
सानो अनुभूतिको आँकुरामा पनि
धरती
हलुकै थामिएर बसिरहन सक्छ ।
भनौं भने यो धरती
यौटा भोकोले खानपाएको
एक थाल भातभन्दा गह्रौँ हुँदैन ।
मदर टेरिजाको झीनो हातले
कैय्यौंपल्ट उचालेर खेलाएको हो यो धरतीलाई ।
अङ्गालोमै नअँटाउने बृहत होइन यो ।
दुधमुखे नानीले चुसिरहेको
आमाको स्तनको मुन्टाभन्दा ठूलो पनि होइन यो ।
रोगीको एक-एक खोराक दवाइले बताउँछ
कि धरती कत्तिसम्म मायालु हुन्छ !
धेरै दिनको डुबाउपछि
बल्ल धरती टेक्न पाएका
ती पाइलाहरुलाई थाह छ
कि धरतीको स्पर्श कत्ति मीठो हुन्छ !
धरती लेख्नलाई कुनै भाषा नै पनि चाहिँदैन ।
बस्, नलेखिएको सादा आकासमा
कलमको टुप्पोले छोइदिनु मात्र पर्छ
त्यहीँबाट धरती बढ्दै बढ्दै मनभरि भिज्छ
अनि हाम्रो चेतनाभरि फैलिन्छ ।
अर्थात् यौटा हाइफन् जस्तै सानो रेखा कोरिदिए पनि हुन्छ
त्यै रेखा बढ्दै बढ्दै क्षितिज निर्माण हुन्छ
अनि धरती
हाम्रो आँखाभरि भरिन्छ ...