भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धर्म ध्वनि / दुर्गालाल श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

धर्मको ध्वनि फैलियोस्
बुद्ध-वाणी गुञ्जियोस् !
विश्व नै ढकमक्क पारी
शान्ति फूल फुलिरहोस् !

एक नै सब हो सबै बुझ
एक हो है, एक हो
मर्म यो नै धर्म हो है
बुद्धको सद्धर्म हो !
जनजनैको मनमनै यो
मन्त्र घननन घन्कियोस् !
धर्मको ध्वनि फैलियोस्
बुद्ध-वाणी गुञ्जियोस् !

धर्म यस्तो चीज हो
जुन हुन्न जात र पातमा,
बुद्ध-आँखाले बिहान
देख्छ कालो रातमा !
प्राणी सबको हृदयमा त्यो
दिव्य ज्योति झलल्ल होस् !
धर्मको ध्वनि फैलियोस्
बुद्ध-वाणी गुञ्जियोस् !

बौद्ध, हिन्दू, जैन के हो ?
धर्म आखिर धर्म हो
घाउ दुख्छ भनेर सबले
बुझ्नुपर्ने मर्म हो
चर्म-रङ्ग अनेक बिर्सी
मन परस्पर एक होस्
धर्मको ध्वनि फैलियोस्
बुद्ध-वाणी गुञ्जियोस् !

'शान्ति भन्दै जति जपे पनि
हैन है त्यो आउने,
शान्ति निर्मल चित्तमाझै-
मात्र हैन र छाउने ?'
बुद्धको यो दर्शनले
चेतना हाम्रो खुलोस् !
धर्मको ध्वनि फैलियोस्
बुद्ध-वाणी गुञ्जियोस् !

धन्य हे नेपाल आमा !
धन्य तिम्रो लुम्बिनी !
धन्य गौतम विश्वका हे
शान्तिनायक अग्रणी !
प्रकट होस् त्यो शान्ति तिम्रो
धर्ती सङ्कट मुक्त होस् !

धर्मको ध्वनि फैलियोस्
बुद्ध-वाणी गुञ्जियोस् !