धार्मिक प्रपञ्च र साम्प्रदायिक स्वार्थ / विष्णु न्यौपाने
धर्मका नाममा मान्छे सम्प्रदाय बनी फुटे
एकै धर्म फुटाएर थुम्का थुम्का बनी उठे
पछि अघि छ के यस्को ? छ त केवल स्वार्थ छ
स्वर छ सबको यौटै “आफ्नो निस्वार्थ कार्य छ”
आडम्बरी बढी ज्यादा पाखण्डीपन मौलियो
नक्कली धर्मले आफ्नो मौलिक धर्म नासियो
जो छैन खण्डवत् आफू स्वयंमा पनि खण्ड छ
खण्डित खण्डका भित्रै वैरत्व भाव उच्च छ
स्वार्थको वृक्षमा मात्रै विष फल्छ निरन्तर
निस्वार्थी मनको मान्छे मृत्यु भोग्छ सरासर
स्वार्थको कुण्डमा मान्छे हदैसम्म गनाउँछ
मासेर सन्तति आफ्नै आफूभित्रै रमाउँछ
सेवाको भावले छिर्छ फैलाइ हात शान्तिका
फैलेर सर्प झैं डस्छ पारेर मन भ्रान्तिका
अनेकौं नाम छन् राम्रा कल्पवृक्ष सरी गुण
उद्देश्य मात्र यौटैछ ‘अस्तित्वको समर्पण’
लुटेर खानु हो मात्रै अर्काको धन सम्पति
कुल्चनु अरुको आस्था मात्र ठान्नु समुन्नति
व्यक्तिको व्यक्तिमा उस्तै राष्ट्रको राष्ट्रमा पनि
ठूलाले सानु चैं खान्छ जस्तै नाता परे पनि
लोभको रापले जाग्छ पापी यो धन सम्पति
प्रतिस्पर्धा जति बढ्छ लोभ जाग्छ उठी उति
बढे नि जति नै ज्ञान मान सान र सम्पति
लोभको गति यो रोक्न सक्तैनन् विश्वका पति
स्वार्थमा सम्पति छिर्दा धर्ममा फूट सिर्जियो
साम्प्रदायिक स्वार्थैले धर्मको ओझ नासियो