Last modified on 12 नवम्बर 2017, at 12:13

धेरै ताराहरू थिए यौटा तारा खस्यो / क्षेत्रप्रताप अधिकारी


धेरै ताराहरू थिए यौटा तारा खस्यो
त्यही यौटा तारासित मेरो सारा खस्यो ।

आकाशभरि तारैतारा
मेरै तारा किन खस्यो
त्यै खसेको तारासित
मेरो मुटु किन खस्यो
भन्द्यौ जुनेली
कैलेसम्म अँधेरीमा बसुँ यसरी !

धेरै छायाँहरू थिए यौटा छायाँ खस्यो
त्यही यौटा छायाँसित मेरो माया खस्यो ।

पाखाभरि घाम खस्यो
आँखाभरि छायाँ खस्यो
त्यै छायाँको ओझेलीमा
मेरो माया किन बस्यो
भन्द्यौ उजेली
कैलेसम्म अँधेरीमा बसुँ यसरी !

धेरै आँसुहरू थिए यौटा थोपा खस्यो
त्यही यौटा थोपासित मेरो हाँसो खस्यो ।