भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धोबिनीले पगली बोली / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

क.
ओखरको त्यो हाँगामाथि
कुखुराहरुले कनिका चोर्दा,
ब्रह्मवेला झुकी सोहोर्दा,
दोसाँध हुँदामा दिनको जाति,
मारी एक चरीले गोली,
मीठो, तीखो, भनूँ के ? साथी !
मीठो, तीखो, भनूँ के ? साथी !
धोबिनीले पगली बोली !

ख.
डोली डोली जब त्यो बोली !
खुल्न नसक्ने दुनियाँ खोली !
स्वपना, बिपनाको छ किनारा,
भागिसकी छ साथ सुतेकी,
प्यारी, वयसी, लजिली मेरी,
मस्त सँगी पनि, सँभली सारा,
निद्रा नाउँ, निशाकी डोली !
धोबिनीले पगली बोली !

ग.
विचित्र हुन्छन् क्षणहरु कोही,
बिपना मुस्की, सपना रोई !
त्यस क्षणमा क्या अमृत घोली !
बोधिसत्वले जाग्यो बोली !
त्यसका सुरमा किरण कराए,
छोटा निशि–निर्वाण डराए,
यस्तो सनातन स्वप्न छिचोली !
स्वर्गद्धारका कवुजा कराए !
प्रलयका सब सेना डराए !
विजयी दिनकर उक्ले चूली !
धोबिनीले पगली बोली !

घ.
हिमाल कहलका मैला कपडा
कूचो बढारिसकेकी उषाले
फ्याँकिरहिथिन् झोला झोली !
धोए किरणहरुले कलिला
रङ्ग अनेकन घोली, घोली,
उम्लिसकेको भाँडो अडाई,
उदय शिखरमा ढल्काएर जादू घोली !
धोबिनीले पगली बोली !

ङ.
एक कुसुमले अङ्ग बटारिन्
चट्ट अडीकन चदर सँभारिन्,
सुनी सुनौला युगको बोली !
उनको मुटुको कचौराभित्र
अडिरहेको बिन्दु पवित्र
ढुल्क्यो मोती सरि अनमोली !

च.
घन निद्राकको तकियामाथि
सुतिरहेको मलाई साथी !
घच्काइदियो त्यो स्वरले छिचोली
स्वप्नदेखिन् विउँझिरहेथेँ,
झन् राम्रो क्या बिपना खोली !
प्रथम रश्मिले सेता हिमाली,
मन्दिरचूड सुनौला, माछा !
पक्रिन आफ्नो जाली डाली !
पुराना मशीहाहरुका आत्मा,
बोले जागी,
“हेर ! यसैले धम्र्म निकाली !”
प्रगतिरथका घोडा सुनिए,
हिनहिन गर्दा उदयाचलमा
याल अफाली !
जागृत दुनियाँ मैले देखें
फालिरहेका दृगका जाली !

छ.
अनुप्राणित भो देशाकाश !
शहीदहरुको रक्ताभास
बोल्यो उसको सुरमा डोली !
“जीवन भन्नु यही, यही हो
हाँसी खेल्नु जीवनहोली !”
युगवाणीले आकाश ठटायो
उड ती पङ्खका चाली टोली
धोबिनीले जब त्यो बोली !

ज.
आँशु हराए स्वर्ग भरीभर
धप्क्यो कविको दिलझैं अम्बर !
अनन्त जस्तो सानो क्षणमा
सुवर्ण ज्वाला पिएँ नयनमा,
विजयी भो कवि अंशुमाली !
उषा आई स्वयंवर गर्छिन्, मेरै मेरै !
“ए तमोहर ! उषावाला
तेरै, तेरै भर पर्छिन् !”
भन्दै पगली कुर्लिन् थाली !

झ.
आँखा पागल हेरन ! साथी !
विचित्र ज्योतिले आज समाती !
किरण गान क्या कानमा घोली !
धप्किरहेछु अकाय, म शुक्र,
अब्रण कविझैं युग यो टटोली !
मुटु अब गाउँछ जीवन होली,
तर्स मदेखिन्, पर सर केही !
आगो भयो अब नाङ्गो देही !
बोल्छु फिलिङ्गो,
हेर्दछु ज्वाला,
के भो ! के भो ! आज मलाई
सुगन्ध निस्क्यो माटो खोली !
त्यसका सुर, सुर भिजे नशामा
पगली जब त्यो,
ओखर हाँगा बीचका बोली !
आज म भावी युगको गीत बोलिरहेछु, ती सुर बटुली
धाकी चोली ?
धोबिनीले पगली बोली !