नजन्मिएकी नारी / अन्ना स्विर / सुमन पोखरेल
अझै जन्मिन बाँकी छु म,
जन्मनुभन्दा पाँच मिनेट अघिकी छु अहिले।
त्यसभन्दा अझै उता पनि जान सक्छु मेरो अजन्मतिर।
अहिले, दश मिनेटअगाडिकी भएँ,
अहिले, जन्मनुभन्दा एक घन्टाअगाडिकी भएँ।
पछाडि फर्किन्छु म
दौडन्छु
आफू जन्मनुभन्दा पहिलेतिर।
मेरो अजन्मतिर बिब्ल्याँटो हिँड्छु म कुनै सुरूङमा झैँ।
दश वर्षअगाडि,
एक सय पचास वर्षअगाडि।
पाइला बजार्दै
पूरै कालखण्डभरि
म एउटा स्वैर यात्रा गर्छु
आफूलाई अलिकति पनि नलिई।
जन्मभन्दा अघिको मेरो जीवन
जति लामो छ ,
त्यति नै अजम्बर छ अनस्तित्व।
जहाँ म पूर्णतया वैयक्तिक हुन सक्छु,
जहाँ एउटा हिँस्रक लोग्नेकी
कुरूप र माया नगरिएकी स्वास्नी हुन सक्छु।
मध्यकालमा पुगेर म कुवाबाट पानी ओसार्न सक्छु।
अझै हिँड्छु म
समयको उद्गमतिर।
हिँड्छु, पाइला बजार्दै
मेरो माइनस जीवनतिर,
जीवनको उल्टोतिर।
म आदम र इभसम्म पुग्छु।
जहाँ केही देखिँदैन, अँध्यारोबाहेक।
त्यस बेला मेरो अनस्तित्व आफैँ नै
गणितीय काल्पनिकताको थकित मृत्यु मरिसक्नेछ,
जसरी मृत्यु भएथ्यो मेरो अस्तित्वको।
के म साँच्चै नै जन्मिएकी थिएँ?