Last modified on 6 जुलाई 2020, at 10:33

नभेटे ‘नि भेटे जस्तो लाग्छ / रवि प्राञ्जल

नभेटे ‘नि भेटे जस्तो लाग्छ जब तस्बिर हेर्छु ।
युगौँदेखि देखे जस्तो लाग्छ जब तस्बिर हेर्छु ।

जति भुलूँ भन्छु उति ताजा हुन्छन् यादहरू,
भित्र कतै रेटे जस्तो लाग्छ जब तस्बिर हेर्छु ।

किन कोरें हत्केलामा मैले अर्को नयाँ रेखा ?
रेखा सबै मेटे जस्तो लाग्छ जब तस्बिर हेर्छु ।

चिहाएर त्यो आँखामा हेर्न खोज्छु ‘रवि’ लाई,
बादलुले छेके जस्तो लाग्छ जब तस्बिर हेर्छु ।