नयाँ भगवान / जोतारे धाईबा


अरबौ आस्थाहरु ओढीओढी
अनाम तलाउको डिलैडिल
घुमिरहेछ भगवान्

दर्शकबिना
सुपरहिट सर्कसघर
आफैं आफ्नो सर्कसमा मग्न छ
सिनेमाका टिकट
मनाइरहेछन् बन्द बाकसमै 'हाउसफुल'
चिडियाखानामा जनावरहरु
आहारा टत्रुयाउने लोपोन्मूख कर्मचारीलाई
घुरेर अवलोकन गरिरहेछन्

सारा मान्छेहरु भगवानसँग
अनाम तलाउको उही ठेगानामा
अविरल गासिरहेछन्
चाखलाग्दो पत्र-मित्रता

परेवा च्यापेर पेरुङ्गोमा
पस्छ भगवान् भाकल सम्झिंदै
आफ्नै धर्मालयको उकुसमुकुसमा
मूर्तिको जलपमा रगत घोट्दै
लेख्छ पहिलो प्रेमिकालाई
अन्तिम चिठी
फोडेर पक्लक्क छाती
मन लाग्छ राखिदिऊ मध्य सहरमा
पीडाको प्रदर्शनी

भगवानलाई
शिखर-प्यागोडा-गुम्बजको भारले
उम्किन मन लाग्छ
यो के भएको हो…।
डुब्दाडुब्दै यी रमिताहरुको भक्तिलीलामा
एकसुर सालिक भएर टक्क
भगवान्मा रुपान्तर भएका छन्
यी मान्छेहरु ।

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.