भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नयाँ वर्ष / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आँखाका चिसा सपनाहरूमा
यस पटक पनि छैन प्रतिबिम्ब
नयाँ वर्षको ।

मनका धागो फुस्केर
असरल्ल छन् विश्वासका दानाहरू
फरक छैन काकाकुल तिर्खाका संस्करणहरूमा
उही र उस्तै छ तन्नेरी छोराछोरीमा-
विदेश गमनको प्रतिस्पर्धा
इच्छाहरूलाई अराजक हुनुको अभियोगमा
बन्दीखानामा कैद गरिएको छ
यस्तैमा एउटा अनन्य मित्रले
भिसा लागेको खुसी पोतेर
एसएमएस मार्फत् पठाएको छ-
नयाँ वर्षको शुभकामना ।

हरेक साँझ रक्सी छोडेको खुसीमा
रक्सी नै खाएर सेलिब्रेट गर्ने मेरो साथी जस्तै
यसपालि आउला... आउला अर्को वर्ष त
पर्खँदा पर्खँदै बगे धेरै वर्षरू समय नदीमा
हरेक पल्ट फेरिन्छ भित्ताको क्यालेन्डर
फेरिन्न छातीको भित्तामा लागेको घाउ
फेरिन्छ पालुवा रुख बिरुवामा
फेरिन्न थुप्रै दाजुभाइहरूको आवरण
न फेरिन्छ अनेकौँ भाउजू दिदीहरूको लाजको पहरेदार ।

र पनि सहरमा हराएको जनप्रतिनिधि
चुनावको चर्चासँगै नमस्कारको भारी बोकेर गाउँ फर्के जस्तो
किन आउँछ कथित नयाँ वर्षहरेक साल ?