भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नयाँ साल / उमेश लुइटेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भावशून्य शब्द कोरेर
अभावका विज्ञप्ति सुनाउँदै
खिरिला जिउका स्केच मेटाउने मान्छेहरू
स्वार्थको यज्ञकुण्डमा विचारका चरू होमेर
नयाँ सालको शुभकामना प्रवाह गरिरहेछन् ।

यसबेलै दिग्भ्रमित छु
चिन्ताको महासागरमा छु
मेरो धरती यो देश
विस्मृत भइरहेछ मनहरूमा
मरूभूमिप्राय: भावनामा हुर्किरहेछन् कोपभाजनका क्याक्टसहरू ।

यहीबेला अखण्डताको बरखी बारेर
निरीहताको मुखमा बुट बजार्नेहरूको
खुलेआम मार्चपास भइरहँदा
खै कसरी स्वीकारूँ नयाँ सालको शुभकामना तिम्रो
कसरी बाँडु शुभकामना तिमीलाई ।