नव स्वागत / भवानी भिक्षु
गर नवागतको नव स्वागत नव पथमा युग-पद अघि सरी ।
किन राजमार्ग चाक्लो, फराकिलोको निर्माणमा यति भय?
किन जीर्ण-शीर्ण फाटे र फुटेकाप्रति तिम्रो मोहित सञ्चय ?
किन सपनाका आव्हान तिमीलाई गर्दैनन् आकर्षित ?
किन उज्ज्वल ज्योतिष्पथमा तिम्रा पद यतिका शंकित, कम्पित ?
यो अन्धकार आसक्ति, पुरातन-भक्ति स्वयं आधाररहित
युगले लन्याएकाहरुका मर्न्यै, खस्न्यै हो अन्तिम हविगति !
जान्यैहरूलाई बिदा गर हच्किन छोडी, मन कडा गरी
गर नवागतको नव स्वागत नव पथमा युग-पद अघि सरी !
तिम्रो यौवन, तिम्रो यो दिन उपलब्ध गर यी स्वर्ण किरण
यो गति तिम्रो, यो मति तिम्रो यतिका सजीव प्राणप्रद क्षण !
यो स्वास्थ्य, पुरुषता तिम्रो गति-पथमा उभिएका छन्
जीवनोन्माद शतश: बटुली, ल्याई शोणितमा भर्दैछन् !
तिमी नव्य, नवोदित के होइनौ? यी नव्य गात तिम्रा होइनन् ?
अनि तिमीले सँगाल्दैमा के यी मरीरहेका मर्दैनन् ।
जीवन सकिएका, कुहीरहेका यी शवलाई पर सारी
गर नवागतको नव स्वागत नब पथका युग-पद अघिसरी !
यो धपधप बल्ने दीप्तिमानमा के तिम्रा पथ छैनन् ?
यी प्राणपूर्ण शत-शत साहसमा तिम्रा 'जय' केही छैनन् ।
के कोच्न्ये तिनै पौरुषता गत सहस्राब्दी - मुखमा नूतन ?
तिम्रो कस्तो तम-भावुकता, निस्पन्दनको वन्दन पूजन !
कस्तो लज्जास्पद दुर्बलता ?- जर्जरमा आज जवानी छ !
कस्तो शोकाकुल कायरता ?- जीवन-ज्वालामा पानी छ !
गत-गीत छोड, नव-नाद लिई हिंड नूतनतिर अभियान गरी
गर नवागतको नव स्वागत नव पथमा युग-पद अघि सरी ।
................................
प्रभात, १।१, भाद्र २००७