भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नानीहरू : मेरो पाठशाला / नोरेम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

के थियो त्यो काखमा ?
के थियो त्यो अङ्गालोमा ?
के थियो त्यो आँखामा ?
जसले तिमीहरूलाई तानिरहन्थ्यो निरन्तर
जसले तिमीहरूलाई लट्ठाइरहन्थ्यो निरन्तर
जसले तिमीहरूलाई हँसाइरहन्थ्यो निरन्तर
 
काख, अङ्गालो र आँखा
सबैको खाली खाली नै त हुन्छन्
जस्तो मेरो
जस्तो अरूको
 
तिमीहरू हुरुक्क हुने काख
तिमीहरू बाँधिन चाहने अङ्गालो
तिमीहरू लट्ठिने आँखा
के अरूका भन्दा बेग्लै थिए ?
 
भेटमा तिमीहरू
खुसीले छताछुल्ल पोखिन्थ्यौ
विदाइमा तिमीहरू
जिउ छाडेर कहालिन्थ्यौ
हेर्दा हेर्दै तिमीहरूकै अगाडि
विलिन भयो त
तिमीहरूको न्यानो काख
तिमीहरूको प्रिय अङ्गालो
 
असहज त्यो क्षण
कति चाँडै सहज भयौ तिमीहरू
खेल्न थाल्यौ तिमीहरू पूर्ववत् आफ्नै सूरमा
अरूलाई चाँडै बिर्सने बालशुलभ मनोरचना
म त हैरान भएँ
र झन् मन पराएँ तिमीहरूलाई
 
तिमीहरूको त्यो अबोध्य चेतना
सायद अनित्यबोध सिकाइरहेको थियो मलाई
तिमीहरूको त्यो सहज स्वीकारोक्ति
एउटा पाठशाला भएको थियो मेरा निम्ति
जहाँ पहिलोचोटि म
जिन्दगीको बाह्रखरी सिक्दै थिएँ ।