नाममा के छ र ?
सब थोक ! 
हेर न, हरेक शब्दमा नामै त नाचिरहेछ । 
नत्र त अचेतनताको अन्धकार फैलिरहनेथ्यो ..
नामहरू थुपारेर खेलिरहन्छ चेतना  
र हामीलाई दिन्छ  
यौटा यौटा अनुहार अनि जिब्रो ।
सुन त,
शब्दकोशभित्र एकएक शब्द नामकै सासले ढुकढुकाइरहेछ
अनि नामधारी ती शब्दहरू 
हाम्रो मन-मस्तिष्कमा नाचिरहन्छ । 
सुन्दैछौ ?
नाममै गुन्जिरहेछ ईश्वरको हुनु पनि । 
स्पेसटाइमबाट जन्मेर 
नामले पाएकोछ पुर्ख्यौली सम्पत्ति यौटा सानो विन्दु .
जहाँबाट रेखा निस्किरहन्छ अनेक आकृतिहरुका अवतार लिई ---
के तिमी साँच्चै यौटा नाम हौ त ?
त्यसो भए 
देश ढुकढुकाइरहेको स्पेसटाइममा 
तिम्रो आफ्नै विन्दु भेट्टाऊ ..
ओ कवि !
नाममा के पो छैन र !