भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नाम धनिमाया थारु — वर्ष चौरासी / रमेश सायन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म धनिमाया थारु
आगनमा चलिरहे छ
मेरै चौरासी पुजा
अव एकै छिनमा
म मानुख्य बाट
देउता हुन्छु ।

देउतालाइ सुहाउँछ
सुहाउँदैन
मेरो पाखुरामा
पुरानो ट्याटुको दाग
पुराना गोनिया ,
लेहंगा,
घुरघुट
देउताले मान्छन् मान्दैन्
पैचुरी लगाएर नाच्न
सुहाउँछ
सुहाउँदैन
मेरो अनुहारमा देउता बस्न ।

देउतालाइ मनपर्छ पर्दैन
पहिलो पल्ट
साहूको खल्यानमा
बिटुलिएको बैँस
घाम हिँड्न नसकने
अनुहारको खोल्खा
स्वयंम म नअटाउने
जिन्दगीको फ्रेम ।

देउताले देख्छन देख्दैनन्
छातिमा दुख्छको भिर
अध्यारो लिपिएको आँखाको भित्ता
अक्षरले नभेटेको मगज
आफ्नै पसिनाले बिझेको
माटोको गन्ध ।

देवताले भेट्छन भेट्दैन
मालिकको धान खेतमा
पुरिएको पैतलाको चक्र
खडेरीमा खसेको
उमेरको चैटा ।

म देउता भएसी
माघी पर्वमा आउँछन् आउँदैन्
मलाइ कम्लरी लिन —मालिक
म देउता —
मालिकलाइ मन पर्छ पर्दैन
बा राख्छन् मालिकको
देउताले
म देउतालाई छुट्टै कम्लरी
बा हुन्छु
म देउताहरुको देउता कम्लरी ।