भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

निःशब्द गीत / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जहाँ, जता, जुन बेला सुन्छु
तिम्रो गीत
मेरो आफ्नै जीवन–गीतजस्तो लाग्छ
मान्छेहरूकै जीवन–सङ्गीतजस्तो लाग्छ ।

तिम्रो गीत
न कुनै शब्दहरूमै कोरियो
न कुनै बाजाको तालमै गाइयो
न कुनै आकारमै ढालियो
न कुनै रङ–बुट्टाहरूमै भरियो
तैपनि
मनपर्छ मलाई आकाशजस्तै
तिम्रो गीत– निःशब्द ।

तिम्रा गीतमा
         न कुनै मोहकता
         न कुनै नशा, न मात
तै, चर्के घाममा पनि
    बर्खे झरीमा पनि
    पीडामा पनि
    खुसीमा पनि
आँखाको रीतजस्तो– तिम्रो गीत
पिइरहन्छन् मान्छेहरू
र म पनि...........।

थुप्रै पटक खेपेको छु मैले
आफ्नै आँखाहरूबाट खसेका सुस्केराहरू थोपाथोपा
तिम्रो गीत
समयको हाँगाबाट लगातार चुँडिएर झरेझैँ,
वा ती सुस्केराहरू तिम्रै गीत हुन्
समयको जराबाट उखेलिएको– बलात्
जसलाई मन पराएर पनि सम्हाल्न सक्तिनँ म
             जीवनजस्तै ।

तिम्रो गीत
निराकार, निःदृश्य, निर्दिष्ट, निःशब्द
तर पनि सधैँ यति धेरै सुन्दर, मीठो र प्यारो
किन नि ? झ्याउँकीरी !

जहाँ, जता, जुनै बेला
आफ्नै जीवनजस्तो मनपर्छ मलाई
तिम्रो गीत– निःशब्द ।