सिन्धुलीमा जन्म्यो सर्लाही धायो
लेख्नेपढ्ने बाहनामा हेटौँडा आयो
त्यसो त ऊ एकताका कोलकातातिर
बेपत्ता पनि नभएको हैन
सिल्ली बन्न दिल्लीतिर पनि नगएको हैन
जता गए पनि बग्न नछाडेपछि
दुखका आँसु पिलपिल
आजकल कविता लेख्न थालेको छ निमेष निखिल ।
प्लस टु सकेर बिएड थाल्यो
बिएडभन्दा अगाडि नै बिहे भ्यायो
ससुराकी छोरी डेरामा ल्यायो
वर्षदिनमै देशको जनसङ्ख्या बढायो
अनि त बबुराले पाउनु दुख पायो
बोर्डिङ पढायो ट्युसन जमायो
कहिले रोयो कहिले रमायो
जहिले पनि खोयाबिर्केकै साथ पायो
कहिल्यै फोड्न पाएन ह्विस्कीको सिल
अनि पो कविता लेख्न थाल्यो निमेष निखिल ।
पान पसलदेखि रासन दोकानसम्म
उधारोले शासन गर्न थालेपछि उसले
सहरमा सडकहरू कम भएको महसुस गर्यो
जिन्दगीको कुरुक्षेत्रमा समस्यासँग लड्दा
कहिले घाइते मात्र भो कहिले झन्डै मर्यो
आज पनि सोच्छ ऊ- पत्याउन सक्दैन
आँसुको त्यो महासागर कसरी तर्यो
मान्छेहरू भन्छन-
कहिल्यै कुण्ठाको कालो बोकेन उसले
सधैँ सफा राख्न खोज्यो दिल
सायद त्यसैले कवि बन्यो निमेष निखिल ।
सबैलाई सम्मान गर्ने अपराध गर्छ ऊ
कालोलाई कालै भनेको अभियोगमा पर्छ ऊ
दुख पाए पनि सधैँ हाँस्छ ऊ
कसैकसैलाई ऊ हाँसेको मन पर्दैन
त्यै भएर कहिलेकाहीँ
ऊ कसैका कथाको कुपात्रमा दर्ता हुन्छ
कसैका कविताको विषय बनिदिन्छ
कुण्ठाका पोका मनका डोकाभरि बोकेर हिँड्नेसँग पनि
ऊ कहिल्यै गुनासो गर्दैन
त्यसैले हुन सक्छ
ऊ धेरैलाई मन पनि पर्दैन
यसैगरी भुक्तान गर्दै छ ऊ
जिन्दगीका उधारा बिल
भ्याएसम्मका कविगोष्ठीहरूमा
आज पनि कविता भन्दै हिँडिरहेछ निमेष निखिल ।