निर्दौष न्यानो / सविता गौतम दाहाल
पुष महीनाको कठांग्रीने जाडो विहान
तिम्रो बैठकको अंगेटीमा
दाउरा बनेर सल्कीएं र वल्न थालें
न्यानो पार्दै थिएं जीवन्त घर
एकाएक उठ्यौ र पानी खन्यायौ
भ्याप्प निभ्यो
एउटा निर्दोष न्यानो
बलिरहन सक्ने कुनै जादुगर थिइन् ।
तिम्रो मनको फराकिलो चौतारी
केही उध्रेको थियो
सियो र ऊनी धागो वोकें
रंगसंयोजन हेरिकन सिलाउन बसें
कतैबाट तिम्रो ध्यान त्यहाँ पुग्यो
मेरै अगाडि झन पुरै उधारेर
फोहर वाकसमा फाली दियौ
तिमीलाइ रोक्न सक्ने
कुनै इश्वरीय शक्ति मसंग थिएन ।
प्रार्थना गर्छु
यसपटकको आउदों माग
धेरै हिमपात नहोस
पारिलो घाम लागिरहोस्
परिवेशको दासताबाट चाडै मुक्ति मिलोस् ।
कसरी सुनाऊँ
यता मैले वालेको आदिम आगोको
मैले कातेको न्यानो रंगीविरंगी ऊनी धागोको
कत्रो सम्मान छ
आदर र ध्यान छ ।