निर्वासन / मनप्रसाद सुब्बा
निर्वासित छौ तिमी त्यहाँ
निर्वासित छु म यहाँ
अनि साँधस्वरूप
‒– बीचमा ‒–
थाक
थाक
वर्षहरू
युगहरू
शताब्दीहरू
ख
डा
गरिएको छ यौटा
‒–प––र्खा––ल
प‒–र्खा‒–ल‒–
‒–प‒–र्खा‒–ल
जो छ अस्पटलाग्दो अडिग
इतिहासको फोसिलाइज्ड धरातलमाथि।
हामी सहजै सक्छौं भन्न
कि त्यो त्यहीँ हुनेछ त्यसरी नै
आउने कैय्यौं युगसम्म ।
हाम्रा साझा उत्सुकता र आवेगहरू
हाम्रा साझा चाहना र सपनाहरू
त्यसैको अडिगपनामा ठोक्किएर
दुर्घटनाग्रस्त भएका चिसा खबरहरू
तातो चियासित पढ्ने गरेको छु मैले
कुनै सस्तो रेस्टुराँको टेबलमा।
म जान्दिनँ
तिमी ती खबरहरू
कहाँ कसरी पढ्ने गर्छौ।
यत्ति जान्दछु
कि तिमी निर्वासित छौ
अनि म निर्वासित छु
यद्यपि यो निर्वासनको कुरो
कुनै अखबारमा छापिएको छैन।
(यस्तो कुरोको प्रकाशनमाथि सख्त प्रतिबन्ध छ।)
ज्यादै टड्कारो पनि छ यो पर्खाल।
तिमी जति टड्कारो छौ मेरो चेतनाको चौबाटोमा
म जति स्पष्ट देखिन्छु तिम्रो यादको चउरमा
यसभन्दा बढ्ता स्पष्ट र टड्कारो छ यो।
उहिलेउहिले यो पर्खालमाथि
चील, लाटकोसेरा र कुकुरहरूले
भक्तिपूर्वक पहरा दिन्थे
अचेल भने
मिसाइलका दाँतहरू अनि पेरिस्कोपका आँखाहरू
ओहोरदोहोर गरिरहन्छन् रातदिन।
तिमी त्यहाँ छौ।
म यहाँ छु।
टाढा क्षितिजमा कहिले
बढो अनौठो किसिमले
आकाश रातो भएको देख्छु
अनि सम्झन्छु –
आज पनि त्यो पर्खालमा
यौटी पगलीले जस्तो टाउको ठोकेर ठोकेर
तिमी रगतपच्छे भइछौ
जस्तो कि प्रायः नै म पनि
त्यसै गर्दो रहेछु।
उफ्! तिमी त्यहाँ छौ निर्वासित ।
समय /
पत्रैपत्र
पत्रैपत्र
थाक
थाक / लागेर
प‒र्खा‒ल छ
‒––बीचमा‒––
म यहाँ छु निर्वासित !