भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
निषेधको जङ्गलमा / महेश प्रसाई
Kavita Kosh से
पार्थ,
तिमी आफ्नो
कुण्ठित चिन्तनको
रणनीतिद्वारा
द्वन्द्व र युद्ध,
हिंसा र आतङ्क,
ईष्र्या र कपट, आदिआदि
विरूप नृशंस
क्रूर–काँतर
शब्दका लेपनहरूले
यो महान् राष्ट्रको
अस्वाभाविक परिभाषा
गरिरहेका छौ,
यी स्वाधीन जनताको
अमाङ्गलिक परिचय
कोरिरहेका छौं,
निषेधको जङ्गलमा
धान उम्रिँदैन,
गहुँ–मकै
कोदो–फापर
जुनेलो–कागुनो
र तेलहन नाम गरेको
कुनै अन्न फल्दैन,
सावधान
जडाउरीमा
भिरेछौ कोट,
बक्रममा,
अब गुलाफको कुनै रङ
चढ्न सक्तैन ।