भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

निष्ठुरीको विश्वासघातमा / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
निष्ठुरीको विश्वासघातमा जिउन पनि गाह्रो गाह्रो
उसैसँगकै वाचा सम्झी पिउन पनि गाह्रो गाह्रो

उसकै याद आउने मनका व्यथाहरू गनूँ भन्दा
बदनाम उसकै हुने डर आफ्नो कथा भन्दा
तर सधैँ यी ओठ मेरा सिउन पनि गाह्रो गाह्रो
उसैसँगकै वाचा सम्झी पिउन पनि गाह्रो गाह्रो

नजुध्ने हैनन् आँखाहरू अरू आँखाहरूसँग
मायालु बास खोज्दै नजीक नजीक आ'कासँग
उसकै घात सम्झी माया लाउन पनि गाह्रो गाह्रो
उसैसँगकै वाचा सम्झी पिउन पनि गाह्रो गाह्रो

आँखा चिम्ले सामु आउँछन् बैगुनीकै चित्रहरू
आँखा खोल्दा कोठाभरि उसकै झुटा पत्रहरू
सपनामा उही आउँछे, निदाउन नि गाह्रो गाह्रो
उसैसँग कै बाचा सम्झी पिउन पनि गाह्रो गाह्रो