नेपाल सम्झी बसेँ / बद्रीप्रसाद बढू
धेरै काल बिते स्वदेश तिर भै नेपालको सेवक !
आफ्नै कर्म र मर्म ज्ञान सिपमा सिक्दै नयाँ रोचक
कस्ता छन् अरूका नयाँ किसिमका संसारमा बाहिर
जान्ने उत्सुकता लिएर मनमा नेपाल छोडी हिँडे//१//
चक्का जाम त्यहाँ भएन कहिल्यै, त्यो देश खुल्ला रह्यो!
त्यो देख्दा मनले कठै ! रहरको नेपाल सम्झी रह्यो
देशै बन्द गरी रमाइरहने छैनन् कि मान्छे कतै !!
त्यो देख्दा मनले कठै ! रहरको नेपाल सम्झी बसेँ //२//
धूलो छैन त्यहाँ सफा सडकमा बत्ती बल्यो साँझको !
धारामा सहजै झर्यो झर झरी पानी सफा प्यूनको/
देखिन्छिन् धरती सदा हँसमुखी आकाश नीलो थियो
त्यो देख्दा मनले कठै ! रहरको नेपाल सम्झी रह्यो //३//
मान्छे छन् रसिला सफा हृदयका हाँसेर बोल्छन् सबै/
यो देख्दा मनले कठै ! रहरको नेपाल सम्झी बसेँ
अर्काको दु:ख मा दुखी भइदिने संस्कार जान्ने सबै /
त्यो देख्दा मनको कठै ! रहरको नेपाल सम्झी बसेँ //४//
पानीका छहरा र चौर हरिया चिल्ला नयाँ पालुवा
बाटो छेउ कतै सुगन्धित भई मुस्काउँछिन् कोपिला
हिँड्दै छिन् युवती सशक्त कसरी निर्धक्क बाटो तिर
त्यो देख्दा मनले कठै ! रहरको नेपाल सम्झी बसेँ //५//