नोस्टाल्जिया / निमेष निखिल
तिम्रो सामीप्यमा
समयलाई पर्खाएर आत्मीयता साटेको आभास
जीवनकै श्रेष्ठतम भ्रममा अनुवाद भएको छ आज
यादको मिर्मिरे बर्सातमा पीडाबोधले रुझ्दै छु यति बेला
र अनुभव गर्दै छु―
तिमी छौ र छैनौको सङ्क्रमणकालीन धङ्धङी।
विचारको तीव्रगामी उडानले
यथार्थको धावनमार्ग स्पर्श नगर्दै
सुदूर भविष्ययात्राले मुकामतिरको मार्ग नपहिल्याउँदै
गुराँस फूलेका आँखाहरू लोलाइसकेछन्
उत्साही पाइलाहरू जकडिसकेछन् अन्धकारका नेलमा
तिमीले देखाएको आशाको गोरेटो
खै त सडक बनेर हामीअधि उभिएको ?
खाटा बसेको अतीत
बेलाबेलामा यसै गरी बल्झन्छ उकुच पल्टेर
कहिले तिमी बनेर, कहिले तिम्रै स्मृति बनेर
यात्रामा खै कहाँ छुट्यौ तिमी, कसरी छुट्यौ, किन छुट्यौ ?
प्रश्नैप्रश्नहरूका थुम्का उभिन्छन् आँखाअघि
तिमीसँगको नोस्टाल्जियाबाहेक
एउटा जिन्दगी पनि छ मसँग
दसकौँ अघि―
हरिभक्त कटुवालले परिभाषित गरेजस्तै जिन्दगी
हो, त्यही जिन्दगीलाई उकेरा लगाउँदै छु
थाक्रो हाल्दै छु, गर्दै छु सिँचाइ।
बाँच्नुको एउटा अनुरक्तिलाई
अझै फुकाल्न सकेको छैन मैले
समय फेरिने आशा अझै त्याग्न सकेकेा छैन मैले
कल्पनामा आज पनि
जीवनका सुन्दर बान्कीहरू बाँकी छन् मअघि
बेलाबेलामा नोस्टोल्जिया बनेर बल्झन्छ―
तिमीसँगको सुदूर स्मृति।
तिम्रै यादका आधार शिविरहरू टेक्दै
म आज पनि उक्लिरहेछु
जीवनको कष्टकर उकालो।