भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

न्याय ज्योति बाल्दछौँ / तुलसीबहादुर छेत्री

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

शान्ति पुजारी हामी हौँ उच्च मस्तक पार्दछौँ
अन्याय अन्धकारमा - न्याय ज्योति बाल्दछौँ !
        अन्याय अत्यचारको
        घोखा र कपटी चालको,
        सधैँ छ मुखमा राम राम
        बगलीमा छुराधार त्यो,
        यस्ता साधु विरालाको
        उघारी पर्दा विश्वमा
काँटा बिझेको शान्तिमा उखेली थुत्त फाल्दछौँ;
                            र न्यायज्योति बाल्दछौँ !
        अनेक भारतवासी छौँ
        विभिन्न भाषा-भाषी छौँ,
        मार्ग धर्मजाति अनेकों
        रूप डाल आकृति कैयौँ
        अनेकता लिई एकता
        डोरी कसिलो बाट्दछौँ
मदान्ध शक्तिको अघि निहुरन्नौँ सामू अडदछौँ ।
        असत्य दूर फाल्दछौँ
        र न्याय ज्योति बाल्दछौँ,
        भारत विशाल देश यो
        शान्तिको अग्रदूत हो,
        निर्धो ठानी यसमा कतै
        चोट लाए अशान्तिको
        चुपचाप अत्यचार त्यो
        सहन्नौँ बरु यस प्राणको
आहूति चडाई विश्वमा शान्ति पताका उचाल्दछौँ,
                               र न्याय ज्योति बाल्दछौँ;
शान्ति पुजारी हामी हौँ उच्च मस्तक पार्दछौँ
अन्याय अन्धकारमा न्याय ज्योति बाल्दछौँ !