न उकालो न ओरालो बग्छ, तिम्रो आँशु / मोमिला
धरतीको यौवन मस्त फक्रिएर
फूलहरूले माथिमाथि आकाश चुमेजस्तो
धपक्कै बलेर प्रभातमा सूर्य
स्वप्नपरी भेट्न उचाइतिर बेग मारिरहेजस्तो
प्रेम पग्लिएर आँखाबाट
किन माथि उकालो बग्दैन आँसु !
अस्वत्थामाको मणिजस्तो
तिम्रो निधारमा सज्जित शक्तिशाली तेस्रो आँखा
किन त्यस्तरी सुक्खा भए !
उल्टै, तिम्रो तेस्रो आँखाबाट
कुहिरीमन्डल धुवाँ मुस्लिएर आगो दन्किरहेछ !
तर, आँखाबाट किन उकालो बग्दैन आँसु ?
र त्यो निधारबाट मुस्लिरहेको ज्वालामुखी धूवाँ शान्त पार्दैन हँ !!
फेरि, हामी त झरीमा च्याउ उम्रेजस्ता भुइँमान्छे—
तिमीले आलिशानबाट थुकेको थुक पनि
सधैँ हाम्रै शिरमाथि पर्छ !
तिमीले थुकेको थुकमा चिप्लिएर
हामी नै पछारिनुपर्छ !
हामी त आफ्नै आँसु पनि धरतीमा नझरोस् भनी
रुँदा आकाशतिर फर्कन्छौँ...
आँखै छचल्किएर यदि ओरालो बगे आँसु
कम्तीमा छातीभित्र आफ्नै हृदय लफ्रक्कै भिजाउँछ
तर, बाढी बनेर कहिल्यै तिम्रो आँगन पसेको छैन !
आफ्नै घर बगाउँछ बरु, तिम्रो घर कहिल्यै बगाएको छैन !
अन्य दर्दको त के कुरा !
तिमीलाई त हाम्रो आँसुको बाछिट्टा पनि परेको छैन !
फेरि, तिमी संसारकै शक्तिशाली शासक
तर, मेरो औँठाछापभन्दा नि सस्तो लाग्ने
तथाकथित तेस्रो आँखाका धनी तिमी
किन त्यस्तरी विवेकशून्य भएर सुक्खा भए हँ !
हुन त तिमीलाई
अर्काको दुःखमा बग्ने आँसुको मूल्य के थाहा !
तिम्रो आँसु त—
न उकालो बगेर मस्तिष्क भिजाउँछ !
न ओरालो बगेर हृदय नै भिजाउँछ !!
जमेर पत्थर भएको
हृदय र मस्तिष्कलाई त
आँसुले पनि कहाँ भिजाउन सक्छ र !
फेरि आफ्नो घडीको सबै सुई मुठ्यायाएर
सबैको घडीमा बाह्र बजेको ठान्ने तिमी
तिम्रो उचाइको त्यही स्थिर बाह्र बजे
आफ्नो आँसुलाई पनि स्थिर बनाई जमाएछौ
र त, तिम्रो जमेको आँसु
न उकालो बग्छ...!
न त ओरालो नै बग्छ....!
यत्तिखेर मेरो घडीमा भने ठीक छ बजेको छ...
०००