Last modified on 9 मार्च 2015, at 16:14

पयर्मा कडा चोट पायेर आये / मोतिराम भट्ट

पयर्मा कडा चोट पायेर आये
म भन्दै थिएँ होस राखेर आये।

फजीती तहाँ भित्रको देख्छ जस्ले
उती फकँदा कान् समायेर आये।

म आउन्न पक्का भनी भन्नु क्यै दिन्,
यती दिन् पछि क्या छकाएर आये।

न केही भनेको न केही सुनेको
बिना कारणै मुख् फुलाएर आये।

म मागेर खोस्ने थिएँ मो कहाँ मन्
कता जानि त्यो मन् लुकाएर आये।

जतिले तहाँ भित्र ता जान पाये
त्यतिले दसेक् ठेक खाएर आए।

अहा कस्तरी छाती झल्क्यो हरीको
जसै मोति माला झुलाये र आये।