भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

परदेशमा / प्रकाश सायमी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

धेरैबेरदेखि सङ्घारमा कसैको आहटले
कसैको पदचापले
ढोका ढक्ढकाइरहेजस्तो
धेरै दिनदेखि
आकाशमा कागले बादललाई जिस्काइरेहजस्तो
कोही आउने सन्देश लिएर बिहानीमा सूर्यले पुलिन्दा ल्याएजस्तो
हुलाकीले चिठी लुकाएर डाँडामाथिबाट चिहाएजस्तो
वर्षौंवर्षदेखि दाहिने आँखा फर्फराइरहेको छ
यो परदेशमा ।

दैलो खोली हेर्दा सङ्घारमा कोही रहेनछ
बलेसीमा
चैतको चञ्चल हावाले पो जिस्केको रहेछ
को आउँछ र, यहाँ ?
को आउनु थियो र ?
कसले पो मेरो नाउँमा चिठी ल्याउँछ यो परदेशमा
छिमेकीका छानामा सुकाएको पलँगको तन्नामा
मंसिरको बैँशालु घाम लडिबुडी खेल्दैछ
मेरो सिरानीमा माघको कठ्याँग्रिदो रात
लमतन्न छ

हे धरा ! मलाई एकमुठी घाम
पठाइदिनु यो परदेशमा ।
सात साल आयो
सत्र साल गयो
छत्तीस नाघ्यो
छयालीसले छायो
कसैलाई नपर्खिनु भन्थ्यो समयले यो परदेशमा ।
नसम्झिनु भन्थ्यो आफ्नो घरलाई पनि ।
असारको झरीले
बगाएछ त्यो घरलाई ।
त्यो बालापन र त्यो बैंशलाई ।
सबैलाई साँचेर राखेको छु
यो बैंशको क्यालेण्डरमा ।

आफैलाई राखको छु यो परदेशमा
आफैलाई झुकाएर राखेको छु यो परदेशमा ।