पराधीनताकोअनन्त शृङ्खला / विष्णु न्यौपाने
पहाडी    भेगमा  यौटा गाउँ  थियो  घमाइलो
साधना   सबको   एकै   भावना थ्यो रमाइलो
धर्म,जात कुनै  थ्येनन् उच्च   नीच   कुनैपनि
थ्येनन् ठूला  कुनैसाना धनी  वा  गरिबै  पनि
अदृश्य   शक्ति  उब्जेर  वैरीले  लिइ  आसन
उराल्यो निमुखा बस्ती  भाँड्यो सारा कुनाकुना
एकता छिन्न भिन्नै भो आगो बल्यो अशान्तिको
खण्डखण्ड भयो  गाउँ झुण्ड झुण्ड समाज भो
उन्नति नासियो  सारा मृत प्राय   समाज भो
जल  सिंचित  माटोमा  रक्तको रङ्ग साटियो
मौका   छोपेर   वैरीले सेवाको सुत्रमा पसी
क्षेप्यास्त्र शान्तिको हान्यो हुकुमी तन्त्रमा बसी
दाइँ  मियो  बिनाको भो घुमे  गोरु जताततै
भन्दै नेता  खडा पा¥यो मान्छे आफ्नै सबैसबै
विधि  आफ्नै प्रजातन्त्र नेता आफ्नै बजारको
संस्कृति  धर्म वा भाषा नोट आफ्नै हजारको
विकासे  नामका  धेरै खोल्यो संस्था जताततै
कुम्ल्यायो अरबौं पैसा बाँड्यो  थोरै  कतैकतै
बुज्रुक   गाउँले लाई  दियो  नेतृत्व  वा कुनै
संस्थाका  जागिरे पारी लग्यो आफ्नै स्वदेशमै
फ्याँकेर लोभका गोटी जालफाली    अनेकन
विद्वान श्वासले तान्यो  राख्यो लाटा हरीजन
छानेर   युवती  राम्रा बलिया  ती  युवाहरू
भर्ती वा कुल्लीमा राख्यो आसलाग्दा युवाहरू
हरिया  वन वा ज्यादा मूल्यवान    जडीबुटी
कौडीका भाउमा तान्दै  बेच्यो  पारी गुटीगुटी
ढुङ्गा, खोला, नदी–नाला, स्वामित्व जलकै पनि
खोसिए  मठ–मन्दिरै  सिमाना   छलिए  अनि
चोरिए   तेलका खानी भित्रभित्रै    जमीनमा
कोइला, सुनका खानी सारा   उस्कै अधीनमा
सन्धी  गराइए यस्ता  निर्णय  गाउँको  हुँदा
स्वीकृति चाहिने उस्कै  लागुगर्न    सदासदा
जनाधिकारका   कर्मी–संस्था   बिके  बराबर
सञ्चारका कयौं संस्था  बिक्रीभए    सरासर
अनेकौं  नामले  बिक्थे  तन्नेरी, विज्ञ, सज्जन
असाध्य सजिलै  बिक्थे  नेता  नामक  दुर्जन
बेचिए   कानुनै सारा बाटा बस्ती हिमाल ती
स्वामित्व विजको बिक्यो बाँकीका धन सम्पति
निरीह  गाउँका  पाका बृद्ध वा  बालबालिका
स्वदेशी  भूमिमा बाँच्थे भोगी शासन देशीका
देखेर  दुर्दशा  यस्तो  पीडाले  मन  पोल्दछ
पुछेर गहको  आँसु  स्रष्टाकै  जोस  बोल्दछ
ब्युँझेर खोज अस्तित्व सुकेको खर झैं बली
गर्जेर खेद ती  वैरी  देशका  दुष्ट  राक्षसी
स्वीकार्छौ  किन दासत्व मृत्यु भोगी हजारन
अर्पेर  जिन्दगी  रोपौं  स्वतन्त्र  जनशासन
 
	
	

