भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

परिचयहीन / हरि अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एक धर्सो नरमाइलो हाँसो
च्यापेर ओठको देब्रे कुनामा
आफैसँग कुरा गर्दै/लड्दै–झगड्दै
एकसुरमा हिँडिरहेको त्यो
अधमरो मानिसको नाम के हो ?

उसले
नाघ्न नभ्याएका ती भन्ज्याङहरू
हुर्काउन नसकेका रूखहरू
बनाउन नपाएको छाप्रो
र चिन्न नभ्याएको चौताराले
चिनेका छन् कि कतै?

जन्मेदेखि नै उसलाई लखेट्दै आएको
दुःख र अभावको
विशाल दानवले पो भन्न सक्छ कि
त्यो निमुखाको पहिचान के हो ?
 उसले
खोस्रेर मलिलो पारेका पाखाहरू
रोएर भिजाएका मझेरीहरू
बाँधेर तह लगाएका खोलाहरू
र कुँदेर ब्युँझाएका पत्थरहरूको
आफन्त त होइन त्यो?
अज्ञात, अनाम र अकिञ्चन मानिस ।