भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

परिवेश / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हेरिरहेको छु ।

भित्ताको कुनामा
विनाकाँडको ठोक्रो र धनु
दलिनमा सिउरिएको
देख्तै भुत्ते खुकुरी र तरबार
काँटीमा सिउरिएको
ढालझै‌ँ देखिने थोत्रे टोपी
भित्तामै अडेसिएको
जालो लागेको काठे घर्रा
चर्किएको ध्वाँसे ऐना
र देख्तै छु झुन्डिरहेको
खिया लागेको फलामे ह्याङ्गरमा
लबेदा–सुरुवाल र थोत्रो भोटो ।

देखिरहेछु प्रस्टै
काठको खाटे बाकस नजिकै पल्टिएको
फित्तै चुँडिएको खराउ–चप्पल
टिनको ढोकानजिकै
बेवास्ता फालिएको
तलुवा खिएको छालाको थोत्रो जुत्ता
र भुइँभरि छरिएका
कपडाहरू, कागजहरू
तुम्लेट बिर्को निस्किएको
सुर्काउनी खुस्किएको झोला
सँंगै फेरा फाटेको टोपी पनि ।
 
लाग्छ यहाँ भर्खरै मात्र
एक बलभद्रले आत्महत्या गरेको छ
     –ह्याङ्गरमा झुन्डिएर
र एक भीमसेन थापा भागेको छ
     –सर्वस्व हारेर ।
                       
अनि म.....?
मुर्दा !
मृत्यु पर्खिरहेको छु ।