भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

परेली–परेलीमा भिजेर / नरेशचन्द्र खाती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

असमय जिन्दगी टक्क अडिन्छ
त्यहाँ धराशायी सृष्टि हुन्छ
प्रलयको हातले छुँदै जाँदा असमय
यो धरतीको माटोमा मान्छे कुहिन्छ ।

परेली–परेलीमा भिजेर
मान्छेलाई यो धरतीको माटोसित रिस छ
यो माटोसित शत्रुता बढेको छ
मान्छेलाई पृथ्वीको थुप्रै घात छ ।

कति गरुङ्गो यो परिधि
कति अनौठो उज्यालोले मुख धोएको यो धरतीमा दिनहरू
एक नयाँ गर्भाधान हुने प्रतीत
अब तिमीले दिनु हुँदैन कसैलाई आत्मसात् गर्न
सृष्टि यहाँ ठसठस्ती गनाउँछ
असमर्थ छ यो टुक्रा जिन्दगी
यो नगरको कुनै छेउतिर
तर घसार्न कोही मान्दैनन् यसलाई
छोडिदिए हुन्छ त्यसलाई
मौलिन दिए हुन्छ कुनै गल्लीका गन्धहरूमा
र पछि च्यात्न सकोस्
आफ्नै अघि नसुहाएको यो वर्तमानको नक्सालाई
खेदे हुन्छ/त्यसलाई भाग्न लगाए हुन्छ आस्था मरेको चिहानबाट
र पछि जिउन सकोस् रबिन्सन क्रुसोले जस्तो
तिमी र मलाई पनि हँसाएर यो साँघुरो आयतनमा
तर यो पाइतालामा टक्क अडिन्छ
जिन्दगी ‘प्यारालल’ होइन
बाङ्गिन्छ, टुक्रिन्छ, लड्छ, भाँचिन्छ, धस्किन्छ र अडिन्छ
जिन्दगी ‘प्यारालल’ हुदैनँ ।

परेली–परेलीमा भिजेर
असमय जिन्दगी टक्क अडिन्छ
त्यहाँ धराशायी सृष्टि हुन्छ
प्रलयको हातले छुँदै जाँदा असमय
यो धरतीको माटोमा मान्छे कुहिन्छ ।