बनेली घुमेर
चमेली चुमिदेऊ
म फूलका हँसिला तरेलीमा हुन्छु ।
आफैलाई सोध
आफैसँग खोज
म तिम्रा रसिला परेलीमा हुन्छु ।
भो बत्ति नबाल
अँधेरीमा खोज
म माया म तिम्रो मुटुभित्र हुन्छु ।
भो आँशु नझार
पँधेरीमा खोज
म पानी म तिम्रो घडाभित्र हुन्छु ।
रोदीघरमा हेर
जुनेलीमा खोज
म टौवामुनिका गोठहरुमा हुन्छु ।
आफैपट्टि फर्क
आफैलाई छाम
म तिम्रा कलिला ओठहरुमा हुन्छु ।