भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पहाडको टुप्पो / गोपी सापकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हामीलाई त्यहाँ पुग्नु छैन
जहाँ पुग्न तिमीले मरिहत्ते गरेका थियौ

हामीले त्यो बाटो हिँड्नु छैन
जुन बाटोमा आफू हिँडिसकेपछि
अरू कोही नहिँडून् भनेर
तिमीले धराप थापेका थियौ

तिमी त उक्लँदै उक्लँदै
आफ्नै साथीहरूको बुई चढ्दै
आफ्नै साथीहरूलाई पछार्दै
माथि पुग्यौ,
पहाडको टुप्पोमा

तर
तिमीले हामीलाई छोड्नुअघि
हाम्रा सपनाहरूसँग साटेका
तिम्रा फाटेका चप्पलहरू
फाटेका दौरा- सुरवालहरू
कुच्चिएका भाँडाहरू
हामीसँगै छन्

पहाडको टुप्पोमै पुर्याउँछु भनेर
तिमीले लगेका हाम्रा सपनाहरू
बीचबाटोको चौतारीमा
चटक्कै छोडेको कुरा
तिनै सपनाहरूले हामीलाई खबर गरिसके
हाम्रा सपनाहरूलाई बीचबाटोमै अलपत्र पारेर
तिमी फेरि टुप्पोमा कुन सपनाको लागि लड्दैछौ ?

पहाडको टुप्पोमा
तिमी सधैँ बस्न पाउने छैनौ
तिमीले नै धकेलेर तल खसाएका
तिम्रा साथीहरूले
आफू माथि पुगेपछि
तिमीलाई धकेलेर तल खसाउने छन्
तिमी सिसिफसको ढुङ्गाजसरी नै तल खस्नेछौ
तल पुगेपछि
फेरि सपनाको व्यापार गर्न
तिमी हाम्रै ढोकामा आउनेछौ
सपना किन्न चाहिने
आफ्ना फाटेका चप्पलहरू
फाटेका दौरा- सुरवालहरू
कुच्चिएका भाँडाहरू
हामीसँग फिर्ता माग्नेछौ
तर
हामीले तिमीलाई जिम्मा दिएका सपनाहरू
तिमीले हामीलाई फिर्ता नगरेसम्म
हामीले तिमीलाई
कुन विश्वासले फिर्ता गर्ने
तिम्रा फाटेका चप्पलहरू,
दौरा- सुरवालहरू र भाँडाहरू ?

हामीलाई त्यहाँ पुग्नु छैन
जहाँ पुग्न तिमीले मरिहत्ते गरेका थियौ ।

०००