Last modified on 19 मई 2020, at 14:11

पहाडबाट खस्छ नदी बत्ती जगाउँछ / गीता त्रिपाठी

पहाड

पहाडबाट खस्छ नदी बत्ती जगाउँछ
अज्ञानको कालो-मैलो सबै बगाउँछ
दुःखैभित्र सुख भेटेँ, सकूँ दुःख गर्न
शिखरदेखि मैदानसम्म ज्योतिरङ्ग छर्न
 
उड्नेहरू स्वतन्त्र भई उडून् आकाशमाथि
दुःख पर्दा बन्न सकूँ सबैको म साथी
सिँढी बनूँ जानेलाई आधार बनूँ टेक्ने
बन्नू छैन पर्खालजस्तो बीचमै बाटो छेक्ने
 
पर्खँदैन समयले नदी पर्खँदैन
जान्छ नदी, अघि जान्छ पछि फर्कँदैन
मेरो धर्म बुझेर म कर्म गर्दै जाउँला
नदी-पहाड एउटै लय, एउटै धून गाउँला ।