भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पाकुनझ्याईँ / नोरेम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आज पाकुनझ्याईं
सिमलको भुवा जस्तै
घरी घरी उडेर पुगिरहन्छ मन
डाँडागाउँको फलैँचामा
जहाँबाट देखिन्छ
माथिमाथि उडदै आइरहेको
भूइँकुहिरो
काकाकुल गाउँमा
सङ्गीतका घैलाहरू बोकेर
 
सङ्गीतको त्यो अनौठो दुन्दुभी
बाजाहरूको बेजोड आवाज
बेग्लै स्वादको लाखे नाच
त्यो महाउत्सव
जब आइपुग्छ बजारमा
पूरै बस्ती हराभरा हुन्छ अचानक
सडक, बार्दली र झ्यालहरूमा
आँखाहरूको ठेलमठेल सुरू हुन्छ
बैँशालु आखाहरू खोज्न थाल्छन्
एक अर्कालाई
र हराउँछन् त्यो महासागरमा
एउटा अपूर्व क्षण घटित हुन्छ
र अनन्त ऊर्जा छरेर
फर्कन्छ पाकुनझ्याईँ आफ्नै थलोमा
 
बर्षौंपछि आज
बिरान बिरान लागिरहेछ
डाँडागाउँ र टुँडिखेल
आउँदैन पाकुनझ्याईँ
आजभोलि बजारमा
सुनसान छन्
सडक, बार्दली र झ्यालहरू
पाकुनझ्याईँ हराएको छ
पहाडबाट
झ्यालबाट चियाउने
सुन्दर आँखाहरू अचानक हराए झैँ
बाँकी छन् त अब केवल
काकाकुल मनका
कहिल्यै नमेटिने तिर्खाहरू ।