पातालको कथा / मौन आवाज
यो समय
स्खलनको झण्डा गाडिएको छ - पातालमा !
गोडिरहेछ लिंगहिन हातहरू
कोप्रामा उम्रेको मगज फूल !
चौपाया चिन्तनको भीडबाट कोही चिच्याइरहेछ
- उज्यालो बचाऊ
- उज्यालो बचाऊ !
मानसिक रोगको अन्तिम फेजबाट
फुत्त निस्किएको छ
एउटा विरक्त साँझ आदिम उपत्यकाको गल्लीमा
र हिँडेको छ नामूद नगरवधूसँग डेटिङमा !
एउटा हातमा कण्डम
र अर्को हातमा गीता बोकेर
दिग्भ्रमित आधुनिक मान्छे
दोबाटोमा उभिएको छ - ठिङ्ग !
सभ्यताको नदीमा बगिरहेछ
वीर्य
रगत
खकार
र एक युगीन मूर्च्छना !
यो शहरको झ्यालमा झुन्डिएको छ
हाकुपटासी
सँगै झुन्डिएको छ एउटा पुरानो संस्कृति !
यो शहरको कान्लामुनि
अहिले पोखरी छ भ्यागुतो खेल्ने
जहाँ
पहिले / पहिले देखिन्थ्यो यो सहरको अनुहार !
लाखे नाच्दै हिँड्थ्यो - जहाँ -
अहिले त्यहाँ - त्यो डबलीमा डान्सबार खुलेको छ !
जहाँ खर्पन बिसाएर हर्क चा:
थकान मेट्थ्यो
अहिले त्यहाँ बसपार्क बनेको छ !
हरिया फाँटहरुमा
स्मृतिको पहाडबाट पहिरो खसिरहेछ ।
कलात्मक टुँडाल
प्राचीन मन्दिर
र मौलिक वस्तीहरुमा
बुलडोजरले खनिरहेछ स्वर्ग पुग्ने नयाँ राजमार्ग !
दिवंगत सम्पदाहरुको आँखीझ्यालबाट
कहिले इतिहास चुहिन्छ
कहिले संस्कृति चुहिन्छ
कहिले चुहिन्छ कला - साहित्य र दर्शन !
अहिले पातालमा
पोर्न स्टारहरुको गुप्तांगबाट घाम उदाउँछ
कर्पोरेट कार्यालयहरुबाट समय हिँड्छ
दुतावासहरुको निर्देशनमा हावा चल्छ !
अहिले पाताल
मेलम्ची कचौरामा बोकेर उतानो परिरहेको छ
र काकाकुल प्रेत - आत्माहरू
जीवनको सुख्खा मरुभूमिमा क्याक्टस रोपिरहेका छन् !
अहिले पाताल
निद्राको ट्याब्लेट चपाएर
दिनभर सुत्छ - मुत्छ - सुत्छ - मुत्छ - सुत्छ !
अहिले पाताल
फूलहिन - सपनाहीन - सम्भावनाहीन
र उज्यालोहीन
लगभग मृत - लगभग ध्वस्त - लगभग नष्ट
बाँचिरहेको छ !
यतिखेर पातालका मान्छेहरु
मस्तिष्क हराएको कोमाग्रस्त पृथ्वी बोकेर
सर्वाङ्ग नग्न कुदिरहेका छन् !
यतिखेर
स्खलनको झण्डा गाडिएको छ - पातालमा
र शोकधुन बजिरहेको छ - नेपथ्यमा ।
र यतिनैखेर
सभ्यताको लास काँधमा बोकेर
मलामी जुलुस निस्केको छ - शहरमा !
०००